
विराटनगर । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले सात दिनभित्र बजेट नसच्याए आठौँ दिन सडक आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
कोशी प्रदेशसभा बैठकको विशेष समयमा बोल्दै उनले यस्तो बताएका हुन् । ‘पार्टीलाई पनि नटेरिकन मुख्यमन्त्री बन्न सक्ने व्यक्तिले जनताको पक्षमा उभिएर भोक हड्ताल गर्न सक्छ,’ उनले भने, ‘जनताको पक्षमा, आमजनताका बालबालिकाका लागि, शिक्षाको लागि, आममहिला स्वयंसेविकाको लागि..आफैंअनशनमा बस्न सक्छु, सात दिनभित्र सच्याउनु भएन भने आठौँ दिनमा सडकमा भेट हुन्छ ।’
कार्कीले आफ्नो क्षेत्रमा पर्ने केशलिया करिडोर निर्माणको योजना मुख्यमन्त्री हिक्मतकुमार कार्कीले काटेको गुनासो गरे । सधैं बाढीले डुब्ने क्षेत्रका जनतालाई सरकारले अपराध गरेको बताए । १० वर्षमुनिका बालबालिकाको उपचार अनुदान शीर्षकको बजेट कटौती भएको भन्दै उनले असन्तुष्टि जनाए ।
सुकुम्बासीलाई जग्गा खरिदमा अनुदान दिने बजेट र शैलजा आचार्य स्मृति अस्पतालको बजेट कटौती गरेको भन्दै उनले असन्तुष्टि जनाए । पूर्व मुख्यमन्त्री कार्कीले आफ्नो सरकारले सुरु गरेका राम्रा कामका लागि बजेट दिन आग्रह गरे ।
‘विधेयकमा सही छाप गरिन्छ, पास गरिन्छ, तर जनता र जनजीविकाको विरुद्ध हुने कुनै दमनको साक्षी बसिदैन,’ उनले भने ,‘ जनजीविका र जनपक्षको विरुद्ध जति निर्णय भएका छन्, त्यो क्याबिनेटले सच्याउन पर्छ ।’

























