
काठमाडौं । पारा ओलम्पिकमा नेपाली पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनले ऐतिहासिक कांस्य पदक जितेकी छन् । फ्रान्सको पेरिसमा जारी पेरिस पारा ओलम्पिकमा पलेशाले के ४४ क्याटेगोरीअन्तर्गत महिला ५७ केजी मुनि तौलमा कांस्य जितेकी हुन् ।
नेपाललाई ऐतिहासिक कांस्य पदक दिलाएकी पलेशाले नेपाल सरकारबाट ६५ लाख रुपैयाँ पुरस्कार पाउने छिन । उनले नेपाली खेलकुदको इतिहासमै ओलम्पिकमा आधिकारिक पदक जित्ने पलेशा पहिलो खेलाडीको कीर्तिमान बनाएकी हुन् ।
कांस्य पदकका लागि भएको खेलमा पलेशाले सर्वियाकी मारिया मिसेभलाई १५–८ ले पराजित गरेकी थिइन् । नेपालले सन् २००४ को एथेन्ज पारा ओलम्पिकदेखि पारा ओलम्पिकमा सहभागिता जनाउन थालेको हो ।
पहिलो खेलमा भेनेजुएलाकी मोरालेसलाई ३१–० को फराकिलो अन्तरले पराजित गर्दै क्वाटरफाइनल पुगेकी थिइन् । तर क्वाटरफाइनलमा पलेशा विश्व नम्बर ब्राजिलियन खेलाडी सिल्भाना मायारा पर्नान्डेजसँग १५–८ ले पराजित भइन् ।
पलेशाले यसअघि २०२१ मा टोकियो पारा ओलम्पिकमा दुई बाउट जितेर पदक नजिक पुगेकी थिइन् । तर कांस्य पदक भिडन्तमा उनी चिनियाँ खेलाडीसँग पराजित भएकी थिइन् । दोस्रो पटक पारा ओलम्पिक खेलेकी पलेशा नेपालका लागि कीर्तिमानी पदक जितेकी हुन् ।
राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ अनुसार समर ओलम्पिक्स, विन्टर ओलम्पिक्स, पारालिम्पिक्स, विशेष ओलम्पिक्स र विश्व कप फुटबल जित्नेलाई निर्धारण गरेको पुरस्कार अनुसार पलेशालाई सरकारले ६५ लाख रुपैयाँ पुरस्कार स्वरुप दिनुपर्ने छ ।
नियमावलीमा व्यक्तिगततर्फ स्वर्ण पदक जित्नेलाई १ करोड ३० लाख, रजत पदक जित्नेलाई ९७ लाख र कांस्य पदक जित्नेलाई ६५ लाख रुपैयाँ पुरस्कार दिने व्यवस्था रहेको छ ।
यसरी पुरस्कृत हुने उनी पहिलो नेपाली खेलाडी बन्ने छिन् । पलेशाका प्रशिक्षक कविराज नेगी लामाले ५ लाख ८५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् । त्यस्तै नेपाल तेक्वान्दो संघले ११ लाख ९२ हजार रुपैयाँ प्राप्त गर्ने छ ।























