
विराटनगर । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले देशको स्थिरताका लागि संविधान संशोधन आवश्यक रहेको औंल्याएका छन् ।
विराटनगरमा ‘जनतासँग जसपा नेपाल, आधारभूत संगठन निर्माण अभियान’ कार्यक्रमको उद्घाटन गर्दै उनले मुलुक प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीमा जानु पर्नेमा जोड दिए । प्रत्यक्ष राष्ट्रपति प्रणालीबाट मात्रै देश र जनताको विकास हुने तथा देशमा स्थिरता आउने उनको भनाइ थियो ।
संघीय गणतन्त्रलाई संस्थागत गरी लोकतन्त्रलाई संस्थागत गर्न संविधान संसोधन, परिमार्जन आवश्यक रहेको उनले बताए । अहिलेको संसदीय व्यवस्थाले देशलाई विकास र समृद्धितर्फ लान नसक्ने भन्दै यादवले संविधानलाई पुनरलेखन गर्न आवश्यक रहेको पनि स्पष्ट पारेका छन् ।
अहिलको ७ प्रदेशबाट १० वटा प्रदेश बनाउन सके मात्र त्यो व्यवहारीक हुने पनि उनको जिकिर छ । अहिलेको ठूला राजनीतिक दलले जनताको समस्यालाई समाधान गर्ने नभएर सत्ता र शक्तिलाई आफ्नो कब्जामा राख्न गठबन्धन गरेको आरोप उनले लगाए ।
दुई ठूला राजनीतिक दलहरु मिले पनि देशमा भ्रष्टाचार, कमिसनतन्त्र मौलाएको आरोप लगाए । कांग्रेस र एमालेले चलाएको नभएर देश बिचौलियाले चलाएको यादवको भनाइ छ । अहिलेका ठूला दलहरु महिला, आदिवासी जनजाति, दलितको पक्षमा नरहेको पनि यादवले बताए ।
जसपा नेपालले कोशी प्रदेशमा मंगलबारदेखि ४ महिने जागरण अभियान सञ्चालन गरेको छ । संगठनलाई जागरुक, सचेत र संगठित गरेर अगाडि बढ्न पनि कार्यकर्तालाई उनले निर्देशन दिए । यसअघि भदौ ९ गते काठमाडौं, १५ गते जनकपुर, १६ गते वीरगन्जमा जसपाको जागरण अभियान सञ्चालन भइसकेको छ ।
कार्यक्रममा जसपा नेपालका सहअध्यक्ष रकम चेम्जोङ, महासचिव रामकुमार सर्मा, केन्द्रिय सदस्य संजय सिंह, केन्द्रीय कार्यकारिणी सदस्य जयराम यादव, कोशी प्रदेशका अध्यक्ष दीपक याख्खालगायतले पहिचान र कोशी प्रदेशको पुनः नामकरण हुनुपर्नेमा जोड दिएका थिए ।

























