
विराटनगर । कोशी प्रदेशमा तिजपछि मात्रै मन्त्रिपरिषद् विस्तार हुने भएको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशमा मन्त्रिपरिषद् विस्तार तिजपछि मात्रै हुने बताएका हुन् ।
मन्त्रिपरिषद् विस्तार गर्न अझै केही दिन लाग्ने बताएका उनले नेपाली कांग्रेसलाई सरकार विस्तारका लागि गति बढाउन आग्रह गरे । विराटनगर विमानस्थलमा बुधबार संचारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै कार्कीले कांग्रेसकै कारण अहिलेसम्म मन्त्रिपरिषद् विस्तार हुन नसकेको बताए ।
‘सरकार विस्तारमा कांग्रेसले गति बढाउनुपर्यो । कांग्रेसको हिँडाइ विस्तारै भयो । गति बढाउनु होला,’ उनले भने । मुख्यमन्त्रीले भनेजस्तै कोशीमा कांग्रेसकै कारण मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भइरहेको हो ।
एमाले प्रदेश संसदीय दलका नेता कार्की नेतृत्वको सरकारमा सहभागी हुने निर्णय कांग्रेसले यसअघि नै गरेको थियो । तर, आन्तरिक किचलोका कारण सरकारमा पठाउने मन्त्रीहरुको टुंगो लगाउन सकेको छैन । जसका कारण कांग्रेससहितको सरकार विस्तारमा समय लागिरहेको छ ।
कांग्रेसले मन्त्रीको नाम दिनेवित्तिकै मन्त्रिपरिषद् विस्तार हुने मुख्यमन्त्री कार्की बताउँछन् । ‘अब चाँडै मन्त्रिपरिषद् विस्तार हुन्छ । मन्त्रिपरिषद् विस्तार नभएकै कारण सरकारका कामकारबाहीमा असर परिरहेको छ,’ उनले भने, ‘मन्त्रिपरिषद्ले पूर्णता पाएपछि सरकारको कामले पनि गति लिन्छ । शासकीय सुधारतर्फ लागेको अहिलेको सरकारले विकासका योजनाहरुलाई तीव्र गतिमा अगाडि बढाउने छ ।’
मुख्यमन्त्री कार्कीले सरकारका बारेमा कोही कसैले नराम्रो बोल्यो भन्दैमा उहीसँग लाप्पा खेल्न जान नहुने टिप्पणी गरे । केही दिनअघि प्रदेशसभा बैठकमा सत्तारुढ कांग्रेसकै प्रदेश सांसद एवं कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले सरकारको चर्को आलोचना गरेका थिए ।
केदारले संसदमा दिएको अभिव्यक्तिप्रति लक्षित गर्दै उनले भने, ‘अमर्यादित बोल्ने, तथ्य बिना बोल्नेसँग केही गर्न सकिँदैन । सरकार आफ्नो काम विश्वासीलो ढंगले गरेर अगाडि बढ्छ । कसैले नमिठो बोल्यो भन्दैमा लाप्पा खेल्न जाने कुरा भएन ।’
सरकार गतिशील र व्यवस्थित ढंगले अगाडि बढिसकेको सन्दर्भमा कसले के भन्यो भनेर त्यतातिर नजाने उनको भनाइ छ । उनले सरकार आफ्नो काम गर्नमा केन्द्रित रहेको बताए ।

























