
उदयपुर । उदयपुरको कटारी नगरपालिका–१० स्थित सोरुङ छविसेमा बिहीबार भएको हत्या काण्डको अनुसन्धान प्रहरीले थालेको छ ।
आमा–छोरा मृत अवस्थामा भेटिएको २४ घण्टा भइसक्दा पनि परिवारका सदस्यबाट जाहेरी नपरेको प्रहरीले जनाएको छ । बिहीबार बिहान ४० वर्षीय निर्मला थापा र ६ वर्षीय छोरा आरुस थापा सुतेकै ठाउँमा हत्या गरिएको अवस्थामा भेटिएका थिए ।
कानुनी प्रक्रिया पूरा गरेर शव पोस्टमार्टका लागि कटारी अस्पताल ल्याइएको इलाका प्रहरी कार्यालय कटारीका निमित्त प्रमुख प्रहरी निरीक्षक उमेश महतोले जानकारी दिए ।
आमा–छोरा नै बेडमा घोप्टो अवस्थामा मृत भेटिएको र टाउकामा धारिलो हतियार प्रयोग गरी हत्या गरिएको देखेपछि गाउँलेले प्रहरीलाई खबर गरेका थिए ।
हत्या गरिएका निर्मलाको श्रीमान अशोक थापाले दुई वर्षअघि दोस्रो विवाह गरी भारततिर गएका थिए । निर्मला एक छोरासँग वडा कार्यालय नजिकै पसल चलाएर बस्थिन् ।
घटनाको अघिल्लो दिन बुधबार साँझमा निर्मलाको मूलघरको देवरहरूसँग फोनमा कुरा भएको खुलेको छ । साना साना देवरहरू थिए उनीहरूलाई बिहान आउँछौ भनेका थिए रे । बिहान घरमा खसी काट्ने सल्लाह थियो रे राति हत्या भएछ’, एक स्थानीयलाई उद्दृत गर्दै प्रहरीले जनाएको छ ।
घटनास्थलमा अनुसन्धानका लागि विज्ञ प्रहरी टोली खटाइसकिएको प्रहरीले जनाएको छ ।


















