
विराटनगर । पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले पार्टी सरकार बनाउने खेलमा नलाग्ने स्पष्ट पारेका छन् ।
विराटनगर विमानस्थलमा आइतबार बिहान संचारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले माओवादी केन्द्रलाई अहिले सरकार बनाउने बारेमा रुची नभएको बताएका हुन् । ‘हामी सरकार हैन, पार्टी बनाउनेमा केन्द्रित भएका छौं,’ उनले भने, ‘हामीले देशभरि प्रदेश–प्रदेशमा गएर परामर्श बैठक गरेका छौं ।’
पार्टी पुनःनिर्माण गर्ने राम्रो अवसर दिएको भन्दै उनले नेपाली कांग्रेस र नेकपा (एमाले)लाई धन्यवाद भनिसकेको पनि बताए । ‘उहाँहरुले पार्टी पुनःनिर्माण गर्ने राम्रो अवसर दिनु भयो । पार्टी बनाउनेतिर लाग्छौं । सरकार बनाउनेतिर ध्यान छैन,’ प्रचण्डले भने । उनले कांग्रेससँग मिलेर माओवादीले सरकार बनाउने हल्ला गलत भएको उल्लेख गरे ।
भ्रष्टाचार विरोधी अभियान चलाएकै कारण आफू नेतृत्वको सरकारलाई टिक्न नदिएको उनको भनाइ छ । ‘कांग्रेस र एमाले जुन मान्यतामा आधारित भएर अघि बढे । त्यसमा हाम्रो एजेन्डा मिल्ने कुरै भएन,’ उनी भन्छन्, ‘एजेन्डामा मिलेर जान चाहेको भए त हामी तयार नै थियौं । तर, हामीले भ्रष्टाचार विरोधी अभियान चलाउँदै गर्दा त्यसबाट बच्ने र भ्रष्टाचारीलाई जोगाउने काम भएकोमा हाम्रो आपत्ति हो ।’
आफूले नेपाललाई बंगलादेश बनाउने भनेर कहिल्यै नभनेको उनको जिकिर छ । ‘दुईतिहाइ बहुमत छ भनेर सरकारले जेपायो त्यही नगरोस्, बंगलादेशमा पनि दुईतिहाइ थियो नि त, त्यसले त काम गर्दो रहेछ त ? सतर्क हुन जरुरी छ । मैले त अहंकार नगर्नु र जनताकाविरुद्ध नजानु पो भनेको हो । नेपाललाई बंगलादेश बनाउने भनेर भनेकै छैन,’ प्रचण्डले भने ।
उनले समानुपातिक र समावेशी उत्पीडित वर्ग समुदायले पाएको प्रमुख अधिकार भएको बताए । ‘त्यो अधिकारलाई कुनै तरिकाले कमजोर पार्ने काम सह्य हुँदैन,’ उनी भन्छन्, ‘मैले नेपाली जनताको जीवनमा परिवर्तन ल्याउनकै लागि त्यत्रो विद्रोह र आन्दोलनको नेतृत्व गरेको हुँ ।’
प्रचण्डले संविधानसभाबाट एकहदसम्म जनतालाई अधिकार प्राप्त भएको पनि बताए । ‘सबैभन्दा धेरै अधिकार मधेसी र मुस्लिम समुदायले पाएका छन् । नागरिकताको समस्यादेखि मिटरब्याजको समस्या समाधान गर्न कानुन बनाएरै काम गरेका छौं,’ उनले भने, ‘मधेसमा लाखौं युवा नागरिकताविहीन थिए । मधेसका जनताले माओवादीलाई धन्यवाद दिनुपर्छ ।’
प्रधानमन्त्री केपी शर्मा ओलीले झुट, बेइमानी, अनैतिकता र जालझेलको तरिका अपनाउने गरेको प्रचण्डको आरोप छ ।

























