
विराटनगर । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले सार्वजनिक रुपमा माफी माग्नुपर्ने माग प्रेस चौतारी नेपालले गरेको छ । नत्र कानुनी कारबाहीमा जाने चेतावनी चौतारीले दिएको छ ।
प्रेस चौतारी कोशी प्रदेश कमिटीका उपाध्यक्ष सुमन पुरीले सोमबार विज्ञप्ति जारी गर्दै कार्कीले माफी माग्नुपर्ने उल्लेख गरेका छन् । प्रेस चौतारीका प्रदेश अध्यक्ष अविजाल विष्टलाई सामाजिक सञ्जाल फेसबुकमार्फत गाली बेइज्जती गरेको आरोप पूर्वमुख्यमन्त्री कार्कीमाथि लागेको छ ।
कार्कीले यस विषयमा २४ घण्टाभित्रमा लिखित र सार्वजनिक रूपमा माफी नमागे कानुनी कारबाहीमा जाने चेतावनी चौतारीले दिएको हो । नेपाल पत्रकार महासंघ मोरङको म्यासेन्जर ग्रुपमा मिति २०८१ भदौ २३ गते चौतारीका प्रदेश अध्यक्ष अविजाल विष्टले लेखेको विषयलाई अतिरञ्जित बनाई पदीय जिम्मेवारी भुल्दै पूर्वमुख्यमन्त्री केदार कार्कीले ‘स्ट्याटस’ लेखेको ठहर गर्दै चौतारीले आपत्ति जनाएको छ ।

चौतारीको विज्ञप्तिमा भनिएको छ, ‘प्रदेश अध्यक्ष विष्टले ग्रुपमा लेखेको सन्दर्भ र विषयलाई बुझ्दै नबुझी हचुवाको भरमा पूर्वमुख्यमन्त्रीले रातको समयमा ‘स्ट्याटस’ लेख्नु र उज्यालो नहुँदै हटाउनुले समग्र प्रेस जगतकै अपमान गरेको हाम्रो संगठनको ठहर छ ।’
‘नेपाल पत्रकार महासंघ मोरङको फेसबुक ग्रुपमा अग्रज पत्रकार विनोद भण्डारीका बुवाको स्वर्गारोहण प्रति प्रदेश अध्यक्ष विष्टले बिहान ८ः१० बजे गरेको टिप्पणी र लामो समयदेखि रोकिएको कोरोना बिमाको भुक्तानी पाएको विषयमा सबै पत्रकारलाई बधाई दिएको सवाल पूर्वमुख्यमन्त्री कार्कीसँग कुनै साइनो र सम्बन्ध समेत नरहेको विषयमा पत्रकारहरूको मात्रै ग्रुपमा अनधिकृत रूपमा छिरी कसले के भन्छ ? र के लेख्छ ? भनेर चियोचर्चा गर्ने कामप्रति प्रेस चौतारी घोर निन्दा र भत्र्सना गर्दछ,’ विज्ञप्तिमा उल्लेख छ ।
पूर्वमुख्यमन्त्रीलाई कसैले लेखेका विषय र टिप्पणीमा चित्त नबुझे कानुनी कारबाहीमा जान पाउने कुराको समेत हेक्का नरहेको यसअघि पनि उनले गरेका हर्कतले देखाएको विज्ञप्तिमा जनाइएको छ । यसअघि पनि समाचार लेखेकै आधारमा पत्रकारलाई बलात्कारको मुद्दा लगाउनेसम्मको गैरजिम्मेवार र धम्कीपूर्ण अभिव्यक्ति दिँदै आएकाले पूर्वमुख्यन्त्री केदार कार्कीलाई सच्चिन प्रेस चौतारी कोशी प्रदेश कमिटीले चेतावनी दिएको छ ।


























