
विराटनगर । माओवादीको संचालन गरेको सशस्त्र युद्धका बेला बेपत्ता बनाइएकी मोरङ पथरीशनिश्चरे नगरपालिका–५ की लक्ष्मी खतिवडाको कुशको शव बनाएर दाहसंस्कार गरिएको छ ।
गत भदौ १७ गते उनको दाहसंस्कार गरिएको हो । उनका बुवा ८३ वर्षीय जनकलाल खतिवडा काजकिरियामा बसेका छन् । जनकलालले आफ्नी छोरी लक्ष्मीको मृत्युको न्यायिक घोषणा गर्न माग गदै २०८० साउन १४ गते जिल्ला अदालत मोरङमा निवेदन दिएका थिए ।
अदालतले २०८० भदौ २५ गते तत्कालीन शाही नेपाली सेनाले पक्राउ गरेर बेपत्ता बनाएको दिनलाई आधार मानेर न्यायिक मृत्युको घोषणा गरिदिएको थियो । सोही आधारमा वडा कार्यालयमा मृत्यु दर्ता गरेर उनको दाहसंस्कार गरिएको लक्ष्मीका भाइ प्रेम खतिवडाले जानकारी दिए ।
‘अदालतले बेपत्ता भएको मितिलाई आधार मानेर मृत्युको घोषणा गरिदियो । त्यही अनुसार हामीले काज किरिया गरेका हौं । हामीले भने गत भदौ १७ गते अन्तिम संस्कारको मिति राखेर काजकिरिया गरेका हौं,’ उनले भने ।
लक्ष्मी खतिवडा २०५८ साल मंसिरमा माओवादी जनयुद्धमा पूर्णकालीन कार्यकर्ता भएकी थिइन् । युद्धकै क्रममा २०५९ भदौ १७ गते सुनसरी खनारको नहर पूर्व सर्वसाधारणको घरमा बसिरहेको अवस्थामा उनी पक्राउ परेकी थिइन् ।
‘दिदी पक्राउ परेको १५ दिनपछि हामीले खबर पायौं । त्यसपछि खोजीका लागि हामी त्यहाँ पुग्यौं । त्यहाँ पुग्दा पक्राउ परेको पुष्टि भयो । त्यसपछि इटहरी ब्यारेक गएर बुझ्यौं । कहाँ लगे भन्ने कुनै पत्ता लागेन,’ लक्ष्मीका भाइ प्रेमले भने, ‘इटहरीमा रहेको सेनाको ब्यारेककै कार्यक्षेत्र भएको स्थानबाट पक्राउ परेको हो । बेपत्ता बनाएको पनि त्यहीँबाट होला ।’
दिदीको अवस्थाबारे बुझ्न जाँदा पक्राउ परेका घरका मानिसलाई पनि तत्कालीन शाही नेपाली सेनाले निर्घात कुटपिट गरेको पाइएको उनले बताए । काँही नपाएपछि उक्त परिवारले माओवादीलाई नै बेपत्ताको अवस्था सार्वजनिक गर्न पहल गरिदिन माग गर्दै आएका थिए ।
‘सरकारमा पनि पार्टी गयो । दिदीको अवस्थाबारे पार्टीले नै खोजी गर्नुपर्छ भन्ने थियो । तर, कुनै पत्ता नलागेपछि बुवाले अदालतमा मृत्युको घोषणा गर्न माग गर्दै निवेदन दिनुभएको हो । अदालतले घोषणा गरेपछि दाहसंस्कार गरियो,’ प्रेमले भने ।
सत्यनिरुपण तथा बेपत्ता छानबिन आयोग सम्बन्धी ऐन पनि जारी भइसकेको छ । उक्त ऐन जारी भएपछि उनको अवस्थाबारे केही जानकारी आउँथ्यो कि भन्ने प्रश्नमा उनले भने, ‘अदालती प्रक्रिया अगाडि नै सुरु भएको कारण अदालतको मृत्युको न्यायिक घोषणापत्रको आधारमा काजकिरियिा गरेका हौं ।’
२०३६ साल पुस २२ गते भोजपुरको खार्तम्छास्थित सानो दिंलामा जन्मिएकी उनी परिवारसँगै २०४८ सालमा सुनसरीको बौकामा बसाइँसरी आएकी थिइन् । त्यहाँबाट २०५१ सालमा साविक हसन्दह गाविस–१ चिलाझारमा बसोबास गरिरहेको खतिवडा परिवारकी छोरी उनी २०५८ साल मंसिरमा माओवादी बनेर भूमिगत भएकी थिइन् ।
उनका ८३ वर्षकी वृद्ध बुवा र ७८ वर्षीय आमा रत्नकुमारीका साथै ५ दाजुभाई र २ जना दिदीबिहीनी छन् । उनको अन्तिम संस्कार चिलाझार पथरीमै गरिएको हो ।



















