
विराटनगर । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्की स्थान फेरेर अनशन बसेका छन् ।
कोशी प्रदेशसभा सचिवालयअगाडि आमरण अनशन बसेका पूर्वमुख्यमन्त्री कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएर उनको घर पुर्याएर छाडेको थियो । कार्की फर्किएर पुनः प्रदेशसभा सचिवालयबाट पूर्वतर्फ अनशन बसेका हुन् । अहिले उनी निषेधित क्षेत्र बाहिर अनशन बसेका छन् ।
१० वर्षमुनिका बालबालिकाको विशिष्टीकृत उपचार सेवा नि:शुल्क हुनुपर्नेलगायतका माग राखेर अनशन बसेका कार्कीलाई प्रहरीले मंगलबार राति ८ बजे नियन्त्रणमा लिएर बूढीगंगा गाउँपालिका– २ टंकिसिनवारीस्थित उनको निवासमा छाडेको थियो । तर, कार्की फर्किएर अनशनस्थलमै आएका थिए । अनशनस्थलमा प्रहरीले बस्न नदिएपछि उनी देवकोटा चोकमा अनशन बसेका हुन् ।
अनशनस्थलमा कार्कीलाई पक्राउ गर्नुअघि प्रहरीले बल प्रयोग गरेको थियो । प्रहरीले बल प्रयोग गर्दा केदार कार्कीका केही समर्थक घाइते भएका छन् । प्रहरीले अनशनस्थलमा रहेका विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालामाथि पनि लाठी चार्ज गरेको थियो ।
कार्कीको अनशनस्थलबाट प्रहरीले १५ जनालाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएकाहरुलाई वडा प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।

























