
विराटनगर । नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापाले पूर्वमुख्यमन्त्री केदार कार्कीको अनशन संस्थागत नभएको बताएका छन् ।
कार्कीको अनशनका विषयमा दलबाट कुनै निर्णय नभएको जानकारी उनले दिए । कार्कीले अनशन बस्ने भनेर पार्टीलाई जानकारी मात्रै दिएको र दलबाट कुनै निर्णय नगराएको उनको भनाइ छ ।
अनशनस्थलमा गएर कार्कीलाई भेटेपछि बुधबार (आज) पत्रकारसँग कुराकानी गर्दै थापाले अनशन संस्थागत नभएको उल्लेख गरेका हुन् । ‘पहिले दलमा निर्णय गराएर अनशन बसेको भए त्यसको अपनत्व पार्टीले लिने थियो,’ पूर्वमुख्यमन्त्रीसमेत रहेका थापाले भने, ‘उहाँले अनशन बस्छु भनेर जानकारी मात्रै दिएकाले यस विषयमा कुनै निर्णय भएन ।’
थापाले यही कुरा दलमा बसेर निर्णय गरेको भए पार्टीले वा दलले जिम्मेवारी लिन्थ्योसमेत भने । ‘यो संस्थागत चैं हुन सकेको छैन । तथापि, यसबाट हामी टाढा हुने कुरा भएन । समस्या आएको छ र यसको समाधानतर्फ जानुपर्ने छ,’ उनी भन्छन् ।
अहिले अनशनभन्दा पनि सरकार अघि बढाउने कुरा पार्टीको प्राथमिकतामा रहेको थापाको भनाइ छ । पार्टीको अहिलेको प्राथमिकता सरकार बनाउनु रहेको उनले बताए । ‘कोशी प्रदेशमा अहिले सरकार पार्टीमा छैन । पार्टीलाई पहिले सरकारमा पठाउने र त्यसपछि अनशनका विषयमा सरकारमार्फत सम्बोधन गराउने कुरा हो,’ थापाले भने ।
पूर्वमुख्यमन्त्री कार्कीले भनेजस्तो बजेट कटौती नभएको जानकारी थापाले दिए । भने, ‘बजेट कटौतीका विषयमा मैले मुख्यमन्त्री कार्यालयका सचिवसँग बुझेको छु । अधिकांश बजेट परेकै रहेछन् । उहाँ (केदार कार्की)ले उठाउनु भएको मागमा पनि अघिकांश बजेट परेको छ । बजेटनै नपरेको भन्ने छैन । हामीले बुझ्दै गर्दा सबै शीर्षकमा पैसा छ । यसमा कार्यदल बनाएर काम गर्नेछौं ।’
काठमाडौंबाट बुधबार बिहान विराटनगर आएका दलका नेता थापा दिउँसो अनशनस्थल पुगेर कार्कीलाई भेटेका थिए । उनीहरुबीच छोटो समय दोहोरो संवाद भएको थियो ।
कार्कीले विभिन्न ९ बुँदे माग राख्दै मंगलबारबाट सुरु गरेको आमरण अनशनको आज दोस्रो दिन हो । विराटनगरको देवकोटा चोकमा उनको अनशन जारी छ । प्रदेशसभा सचिवालयको गेटअगाडि उत्तरतर्फ बनसखण्डी महादेव मन्दिरनजिक निषेधित क्षेत्रभित्र आमरण अनशन सुरु गरेका उनलाई मंगलबार राति प्रहरीले हटाएको थियो ।
प्रहरीले नियन्त्रणमा लिएर गाडीमा राख्दै उनलाई बूढीगंगा गाउँपालिका–२ टंकीसिनवारीस्थित घरमा लगेर छाडेको थियो । घरमा बस्न नमानेका उनले फर्किएर निषेधित क्षेत्रभन्दा बाहिर अनशन सुरु गरेका थिए । निषेधित क्षेत्रको अनशन हटाउने क्रममा कार्कीका समर्थक र सुरक्षाकर्मीबीच झडपसमेत भएको थियो ।

























