डीएसपीको ज्यान लिने धम्की दिने हाङ्गामलाई कोशीमा मन्त्री बनाइँदै

Share this
666shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ भदौ २८, शुक्रबार ०९:०९

विराटनगर । ताप्लेजुङको निर्वाचन क्षेत्र नम्बर १ ‘ख’बाट निर्वाचित प्रदेशसभा सदस्य खगेनसिंह हाङ्गामलाई नेपाली कांग्रेसले कोशी प्रदेश सरकारमा मन्त्री बनाउने विवादास्पद निर्णय लिएको छ ।

ताप्लेजुङका तत्कालीन प्रहरी प्रमुख डीएसपी राजन लिम्बू र उनको परिवारलाई लक्षित गरेर हाङ्गामले सार्वजनिक मञ्चबाट ज्यान मार्ने धम्की दिएका थिए । घटना २०८० साल भदौ २२ गतेको हो । नेपाली कांग्रेसभित्र शेरबहादुर देउवा समूहका सांसद हाङ्गाम आज उद्योग कृषि तथा सहकारीमन्त्री बन्दै छन् ।

कांग्रेस एमाले नेतृत्वको कोशी प्रदेश सरकारमा आज सहभागी हुँदै छ । सरकारमा तत्काललाई संस्थापन पक्ष र कृष्णप्रसाद सिटौला पक्षबाट मात्रै मन्त्री पठाउने तयारी छ । तत्काललाई कांग्रेसले ३ मन्त्री र १ राज्यमन्त्रीलाई सरकारमा पठाउने छ ।

कांग्रेसबाट सिटौला समूहका भूपेन्द्र राई भौतिक पूर्वधार, शेरबहादुर देउवा समूहका हाङ्गाम उद्योग कृषि तथा सहकारी र सदानन्द मण्डल पर्यटन, वन तथा वातावरणमन्त्री बन्ने छन् । कृष्ण सिटौला पक्षका भूमि राजवंशी भौतिक पूर्वाधार राज्यमन्त्री बन्नेछन् ।

हाङ्गामले डीएसपी र उनका परिवारको ज्यान लिने धम्की दिएको घटनालाई भने त्यतिबेलै सामसुम पारेर मिलाइएको थियो । उनीमाथि कुनै कारबाही भएन । सत्तारुढ दलका सांसद भएकै हिसाबबाट उनले उन्मुक्ति पाएका थिए ।

हाङ्गामले कानुन हातमा लिएर अमर्यादित, उत्तेजक र माहोल भड्काउने हिसाबले सार्वजनिक मञ्चबाट अभिव्यक्ति दिएका थिए । तर, पक्राउ गरेर कारबाही अघि बढाउन प्रहरी पनि डरायो । प्रहरी अधिकृत र उनका परिवारलाई सखाप पार्ने धम्की दिने हाङ्गामलाई कांग्रेसले उपहारस्वरुप मन्त्री पद दिने भएको हो । उनले आज (शुक्रबार) बिहान ९ः४५ बजेतिर मन्त्रीको शपथ लिँदैछन् ।

नेपाली कांग्रेस प्रदेश संसदीय दलका प्रमुख सचेतक गोपाल तामाङले जनताको भोट जितेर सांसद भएको मान्छेलाई मन्त्री बनाउनु स्वभाविक भएको बताए । ‘त्यतिबेलाको घटना भनेको परिस्थितिजन्य कुरा हो । त्यो व्यक्तिगत कुरा हो । लडाइँ झगडा त मान्छेको हुन्छ । हाम्रो ‘ह्युमन नेचर’ पनि त छ । राजनीतिमा पार्टीबाट टिकट पाउँदै भोट जितेर आएपछि मन्त्री बनाउनु स्वभाविक हो,’ उनले भने ।

तामाङका अनुसार केही न केही योगदान गरेकै कारण हाङ्गामले चुनाव जितेर आएकाले मन्त्री बनाउन लागिएको जानकारी दिए । ‘त्यो ठूलो कुरा हैन । सांसदजस्तो मान्छेलाई डीएसपीले पनि त धम्क्याउन हुने थिएन । समाचार लेखे हुन्छ, केही फरक पर्दैन,’ तामाङले भने ।

यस्तो थियो घटना
ताप्लेजुङको फुङलिङमा आयोजित मिनी मेलामा सांसद हाङ्गाम र डीएसपी लिम्बूबीच २०८० भदौ २१ मा विवाद भएको थियो । उनीहरुबीच आरोप प्रत्यरोप नै चल्यो । त्यसको भोलिपल्ट हाङ्गामले फुङलिङमा कोणसभाको आयोजना गरेर डीएसपी लिम्बू र उनका परिवारलाई लक्षित गरी ज्यान मार्ने धम्की दिएका हुन् ।

सांसदले ज्यान मार्ने धम्की दिएकामा प्रहरीले आपत्ति प्रकट गरेको थियो । तर, कारबाही भने गर्न सकेन । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका तत्कालीन एसपी ऋषिराम कँडेलको नेतृत्वमा छानबिन समिति नै बनाइएको थियो ।

कांग्रेसले त्यतिबेला पनि हाङ्गामको बचाउ गरेको थियो । उनले दिएको अभिव्यक्ति गलत भए पनि वातावरण बिगार्ने काम प्रहरीबाटै भएको प्रतिक्रिया दिएर हाङ्गामलाई बचाइएको थियो । प्रहरीले सादा पोसाकमा गएर व्यक्तिको घर तोडफोड गरेको, ढोका बाहिर निकालेको, कुटपिट गरेको र गुन्डागर्दी शैली अपनाएको आरोप कांग्रेसको थियो ।

कांग्रेसले विज्ञप्ति नै जारी गरेर प्रहरीबाट ज्यादती भएको भन्दै निन्दा प्रकट गरेको थियो । सार्वजनिक हिसाबले हिंसा भड्काउने गरी उत्तेजक अभिव्यक्ति दिने सांसदको बचाउमा कांग्रेस लाग्यो ।

मेलामा सहभागी भएका पेमा लामा तामाङ सुकेटार घुमफिर गरी फर्कने क्रममा प्रहरीले मुक्का प्रहार गर्नुका साथै आँखामा गम्भीर चोट लग्नेगरी सेटले समेत हिर्काएको कांग्रेसको दाबी थियो । घटनाका बारेमा बुझ्न खोज्दा हाङ्गामलाई बर्दी र सादा पोसाकका प्रहरीले गालीगलौज गर्नुका साथै उनको घरमा ढुंगामुडासमेत गरेको दाबी गरेर कांग्रेसले उनलाई उन्मुक्ति दिन भूमिका खेलेको हो ।

 

तपाइको प्रतिक्रिया
प्रधानमन्त्री शाहको भारत भ्रमण राजकीय हुने तयारी
बाढीपछिको पुनर्निर्माणमा एडिबीको सहयोग बढाउन नेपालको आग्रह
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.