
विराटनगर । विराटनगरमा भैँसीसँग चार वटा सवारी ठोक्किएर दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् ।
विराटनगर महानगरपालिका –१४ मलाया रोडमा मंगलबार बेलुका भैँसीसँग दुई वटा मोटरसाइकल, एउटा जीप र एउटा कार ठोक्किएर दुर्घटना हुँदा पाँच जना घाइते भएका हुन् । ठक्करबाट भैँसी मरेको छ ।
सडक पार गर्दै गरेको छाडा भैँसीसँग सुरुमा जीप ठोक्किएको थियो । जीपसँग ठोक्किएर भैँसी लडेको थियो । लडेको भैँसीमा कार र दुई वटा मोटरसाइकल पनि ठोक्किएर दुर्घटना भएको हो ।
प्रहरीका अनुसार को २५ प ६३८७ नम्बरको मोटरसाइकलमा सवार दुई जना घाइते भएका छन् । को ११ प २९०९ मोटरसाइकलमा सवार एक जना र बा २९ च २६१८ नम्बरको कारमा सवार दुई जना घाइते भएका छन् । घाइते सबैलाई न्यूरो अस्पताल विराटनगरमा भर्ना गरिएको छ ।

























