
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभामा नवनिर्वाचित संसदीय दलका सभापतिहरुलाई बुधबार बधाई दिएका छन् ।
प्रदेशको ७ वटा विषयगत समितिका सभापतिहरुलाई कार्कीले बधाई ज्ञापन गरेका हुन् । कोशीमा लामो समयदेखि सभापति चयन हुन सकिरहेका थिएनन् । मुख्यमन्त्री कार्कीकै पहलमा सभापति चयन भएका हुन् ।
समितिमध्ये नेपाली कांग्रेस र नेकपा (एमाले)ले ३/३ र नेकपा (माओवादी केन्द्र)ले एउटाको नेतृत्व पाएका छन् । भदौ २८ गते समितिका सभापति चयन गरिएको थियो ।
मुख्यमन्त्री कार्कीले एमाले प्रदेश संसदीय दलको सचेतक ललिता चौधरीलाई समेत बधाई दिएका छन् । समिति सभापतिहरु र एमाले सचेतकलाई बधाई दिँदै उनले कार्यकाल सफलताको शुभकामना पनि व्यक्त गरेका छन् ।
संसदीय समितिको सभापतिमा एमालेको तर्फबाट होमबहादुर थापा (प्राकृतिक स्रोत तथा पूर्वाधार समिति), कमला दर्नाल (न्याय, प्रशासन तथा विधायन समिति) र रामदेव यादव (उद्योग, पर्यटन तथा वातावरण समिति) निर्वाचित भएका थिए । कांग्रेसको तर्फबाट गयानन्द मण्डल (सामाजिक विकास समिति), खगेश्वरी पौडेल (सुशासन तथा योजना समिति) र विनोद राई (अर्थ समिति) निर्वाचित भएका हुन् ।
माओवादीका तर्फबाट राजन किराँती (सार्वजनिक लेखा समिति) सभापति बनेका छन् । दलहरुबीचको सहमतिमा सबै समिति सभापतिहरु सर्वसम्मत निर्वाचित भएका हुन् ।

























