सडक सौन्दर्यकरणका लागि बैंकको सहयोग

Share this
756shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ असोज २, बुधबार १६:०४

विराटनगर । विराटनगरको बरगाछी–रानी सडक सौन्दर्यकरण परियोजनाका लागि स्टान्डर्ड चार्टर्ड बैंकले आर्थिक सहयोग गरेको छ ।

बैंकले बुधबार विराटनगर महानगरकी कार्यबाहक प्रमुख शिल्पा निराला कार्कीलाई २ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको छ ।

बैंककी प्रदेश प्रमुख शर्मिला हुमागाईंसहितको टोलीले कार्यबाहक प्रमुख कार्कीलाई चेक हस्तान्तरण गरेको हो ।

वडा नम्बर १ का वडाध्यक्ष काजीबहादुर बस्नेत, ११ का तीर्थेन्द्र नेउपाने, महानगरका तर्फबाट सौन्दर्यकरणको संयोजन गरिहेका सरसफाई शाखा प्रमुख पुनमकुमार दाहालसमेतको उपस्थितिमा बैंकले महानगरको सडक सौन्दर्यकरणका लागि सहयोग रकम हस्तान्तरण गरेको थियो ।

हालसम्म १८ लाख ५० हजार रुपैयाँ परियोजनाको खातामा जम्मा भइसकेको छ ।

यसअघि १० वटा विभिन्न बैंक तथा वित्तीय संस्थाहरूबाट १६ लाख ५० रुपैयाँ जम्मा भइसकेको थियो । सो सडकको सौन्दर्यकरणका लागि ५५ लाख रुपैयाँको लागत अनुमान गरिएको छ ।

हाल तारजाली लगाएर फूल रोप्ने कार्य भइरहेको छ । बरगाछीदेखि महेन्द्र चोकसम्मका सबै मेडिएम (डिभाइडर)मा तारजाली लगाइसकिएको छ ।

बरगाछी–महेन्द्र चोकका केही डिभाइडरमा मात्रै फूल रोप्न बाँकी छ । संविधान दिवसका अवसरमा असोज ३ गते बिहीबार बाँकी रहेका डिभाइडरमा पनि फूल रोप्ने कार्यक्रम राखिएको महानगरले जनाएको छ ।

५ किलोमिटर लम्बाई रहेको विराटनगर बरगाछी–रानी सडकमा ४६ वटा मेडिएम (डिभाइडर) रहेको सडक सौन्दर्यकरण अभियानको संयोजन गरेका दाहालले जानकारी दिए । एउटा डिभाइडरमा भने नेपाल उद्योग परिसंघ कोशी प्रदेशले सौन्दर्यकरण गरिसकेको छ ।

परियोजनाका लागि छुट्टै बैंक खाता सञ्चालनमा ल्याइएको दाहालले बताए । परियोजनालाई पारदर्शी र व्यवस्थित बनाउन उद्योगी तथा समाजसेवी वेनिगोपाल मुन्दडाको संयोजकत्वमा महानगरले गठन गरेको समितिले हाल सौन्दर्यकरण अभियानलाई तीव्रता दिइएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.