
उदयपुर । उदयपुरको कटारी नगरपालिका–१० सोरुङछबिसेका नाबालक छोरासहित आमाको हत्या गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
आमा–छोराको हत्या भएको दुई सातापछि सोही ठाउँका ३३ वर्षीय ताराबहादुर मगरलाई प्रहरीले पक्राउ गरेकाे छ ।
प्रदेश कार्यालयको विशेष टोली र जिल्लाको टोलीले घटनाकाे सूक्ष्म तवरबाट अनुसन्धान गर्दा पुष्टि हुने आधार खोज्ने क्रममा समय लागेको बताउँदै, काेशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी भीमबहादुर दाहालले भने, ‘अनुसन्धान गर्न दुई साता लाग्यो । तर, घटनामा संलग्न मुख्य व्यक्तिसम्म पुग्न सक्यौं । उनसलाई नियन्त्रणमा लिएका छौं । घटनामा उ मात्रै हो वा अरु सहयोगी पनि थिए कि भन्ने विषयमा थप अनुसन्धान हुनेछ ।’
मृतकको मोबाइल र हत्यामा प्रयोग भएको खुकुरी फेला परेको थिएन । पक्राउपछि उसले बयान गर्ने क्रममा सबै कुरा भनेपछि खुकुरीसमेत फेला परेको एसएसपी दाहालले बताए ।
पक्राउ परेका मगर पनि विवाह पुरुष हुन् । उनीहरुबीच प्रेम सम्बन्ध रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रेम सम्बन्धमा समस्या आएपछि हत्या गरिएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ ।
भदौ २० गते बिहान पसल भएको घरमा मृत अवस्थामा ६ वर्षीय छोरा आरुस र ३७ वर्षीय आमा निर्मला थापा मृत अवस्थामा फेला परेका थिए । उनीहरुलाई पक्राउ परेका मगरले धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।
निर्मलाका श्रीमान अशोक थापा ३ वर्षअघि एक महिलासँग दोस्रो विवाह गरेर भारतको राजस्थान गएका थिए ।
त्यसपछि निर्मला छोरालाई लिएर उनीहरु मृत अवस्थामा भेटिएको घरमा पसल, होटल चलाउँदै आएकी थिइन् ।
पक्राउ परेका मगरलाई कर्तव्य ज्यान मुद्दामा अदालतबाट म्याद थपेर घटनाको थप अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।


















