रवि लामिछानेलाई खोज्दै प्रहरी, रास्वपाले बोलायो आकस्मिक बैठक

Share this
628shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ असोज ६, आइतबार १९:१२

विराटनगर । पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अध्यक्ष रवि लामिछानेलाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको छ ।

सहकारी ठगी प्रकरणमा मुछिएका लामिछानेले आफूलाई सहकारी छानबिन संसदीय विशेष समितिले ‘क्लिन चिट’ दिएको दाबी गर्दै आएका थिए । तर, लामिछानेसहित सहकारी ठगीमा मुछिएकालाई पक्राउ गर्न प्रहरी खटाइएको छ । ५५ जनालाई पक्राउ गर्ने तयारी छ ।

सहकारी ठगीमै मुछिएका गोर्खा मिडिया नेटवर्कका सञ्चालक नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशी केहीबेर अघि पक्राउ परेका छन् । लामिछाने पनि गोरखा मिडिया नेटवर्ककै पूर्वसञ्चालक हुन् । उनी अहिले केही नेताहरुसहित पार्टी कार्यालय बनस्थलीमा रहेको बताइएको छ ।

कांग्रेस उपसभापति धनराज गुरुङलाई समेत पक्राउ गर्ने प्रहरीको तयारी छ । सहकारीको रकम अपचलनबारे संसदीय छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न गृहमन्त्री रमेश लेखकले आइतबार नै प्रहरी मुख्यालय पुगेर निर्देशन दिएका थिए ।

यसैबीच, रास्वपाले आकस्मिक बैठक बोलाएको छ । काठमाडौं उपत्यकालाई केन्द्रित गरेर बैठक बोलाइएको हो । रास्वपा बागमती प्रदेशका सभापति डा. अच्युत्तम लामिछानेले उपत्यकाका पार्टी सदस्यहरुलाई यथासक्य छिटो केन्द्रीय कार्यालयमा उपस्थित हुन आग्रह गरेका छन् ।

लामिछानेलाई पक्राउ गर्ने तयारी भइरहँदा रास्वपाले बैठक बोलाएको हो । रास्वपाले सत्ता गठबन्धनले षडयन्त्र गर्न लागेको आरोप लगाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.