
झापा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गरिएको विरोधमा आज (सोमबार) झापामा चक्काजामको आह्वान गरिएको छ । उनका समर्थकले चक्काजाम गराएका हुन् ।
बी एन्ड सी अस्पतालका संचालक प्रसाईं पक्राउ परेपछि उनका समर्थक आन्दोलित बनेका छन् । समर्थकले चक्काजामको आह्वान गर्दै झापाका अगलअलग स्थानमा भारतीय नम्बर प्लेटका ३ वटा ट्रकमा आगजनी गरेका छन् ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत कन्काई नगरपालिका–८ स्थित बिरिङ खोलाको पुलमा राति ११ बजेतिर यूपी –५७ एटी–४४९३ नम्बरको मालबाहक ट्रकमा आगो लगाइएको प्रहरीले जनाएको छ । उक्त ट्रक बिर्तामोडबाट सुरुंगातर्फ आउँदै थिए ।
प्लाइ बनाउन प्रयोग हुने कच्चा पदार्थ बोकेको ट्रकमा आगजनी गरेर ६ वटा मोटरसाइकलमा आएका १०–१२ जना फरार भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार फरार भएकाको खोजी तीव्र पारिएको छ ।
बिर्तामोड नगरपालिकाको दमकलको सहयोगमा इलाका प्रहरी कार्यालय बिर्तामोड र सुरुंगाबाट खटिएको संयुक्त टोलीले राति १२ बजेतिर आगो नियन्त्रणमा लिएको थियो । आगजनीबाट ट्रकको अगाडिको भागमा क्षति पुगेको छ ।

त्यस्तै, प्रसाईंका समर्थकहरुले सोमबार बिहान २ः४५ बजे पूर्व–पश्चिम राजमार्गअन्तर्गत बिर्तामोड नगरपालिका–६ गिरीबन्धु टी–इस्टेटनजिकै अर्को भारतीय मालबहाक ट्रकमा आगजनी गरेका छन्। सुनसरीको दुहबीबाट काँकडभिट्टातर्फ जाँदै गरेको डब्लूबी–७३–ई–३०५७ नम्बरको खाली ट्रकलाई रोकेर ५–६ जनाको समूहले आगो लगाएको प्रहरीले जनाएको छ ।
ट्रकमा लागेको आगो बिर्तामोड नगरपालिकाको दमकलको सहयोगमा इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको टोलीले नियन्त्रणमा लिएको थियो। त्यस्तै, सोमबार बिहान झापाको धाइजनमा डब्लूबी–७३–ई–३०५६ नम्बरको भारतीय ट्रकमा आगजनी गरिएको छ ।
प्रहरीका अनुसार ३ वटै ट्रकमा प्रसाईंका समर्थकले आगजनी गरेका हुन् । प्रसाईं पक्राउ परेको विरोधमा आन्दोलित बनेका उनका समर्थकले अराजक गतिविधि गरिरहेको प्रहरीले जनाएको छ ।
प्रसाईंलाई रिहा गर्नुपर्ने मागसहित आन्दोलनमा उत्रिएकामध्ये २ जना समर्थकलाई प्रहरीले आइतबार पक्राउ गरेको थियो । पक्राउ पर्नेहरूमा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका झापा जिल्ला संयोजक रामचन्द्र मैनाली र नागरिक प्रतिरक्षा बल (पीडीएफ) का मेची अञ्चल संयोजक दुरेन राई रहेका छन्।


















