
झापा। झापाको पुरानोमध्येको १ पूर्वनेपाल बहुउद्देश्यीय सहकारी संस्था संकटमा परेको छ ।
संस्थाको पैसा पूर्वपदाधिकारीले आफ्नो निजी कम्पनीमा लगेका कारण संस्थालाई समस्या भएको हो । कोशी प्रदेशको उद्योग, कृषि तथा सहकारी मन्त्रालयले गरेको अनुगमनका क्रममा सहकारीको १८ करोड रकम पूर्वपदाधिकारीले खोलेको कम्पनीमा लगानी भएको छ । जुन रकम जोखिममा छ ।
सहकारीका संस्थापक अध्यक्ष गणेश ढकाललगायत अन्य व्यक्तिहरु मिलेर खोलेको कटेरो नेपाल प्रा.लि नामको कम्पनीका सञ्चालकलाई एकै समयमा १८ करोडभन्दा बढी ऋण प्रवाह गरेको देखिन्छ । कम्पनीका सञ्चालक लेखनाथ रिजालले १ करोड ७५ लाख, कूलराज निरौलाले १ करोड, सन्तोष घिमिरेले ३ करोड १६ लाख ८० हजार, सन्तोषकी श्रीमती प्रेरणा घिमिरेले ३ करोड, देवराज भण्डारीले ३ करोड १४ लाख ३१ हजार, तुलसादेवी राउत निरौला र सञ्जय कार्कीले ३–३ करोड रुपैयाँ लगानी गरेको पाइएको छ । यो रकम उच्च जोखिममा रहेको अनुगमन समितिको प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदनमा भनिएको छ, ‘पर्याप्त धितो जमानत राखी सुरक्षित रुपमा ऋण लगानी गर्नुपर्नेमा विगतमा जमानतको मूल्यांकनभन्दा बढी ऋण लगानी गरेको देखियो । ऋण लगानी गर्दा कूल पूँजीकोषको १० प्रतिशतभन्दा बढी १ व्यक्तिलाई ऋण लगानी गर्न नहुनेमा बढी लगानी गरेको देखियो । ऋणीले घरजग्गा धितो राखी ऋण लिँदा कम्तीमा ५० प्रतिशत धितो जमानत आफ्नो वा एकाघर परिवारका नाममा स्वामित्व भएको हुनुपर्ने व्यवस्थाविपरीत सबै धितो अर्काको स्वामित्वमा भएको जग्गा धितो लिएको देखियो ।’
सहकारी संस्थाले लगानी गरेको ऋणमध्ये ठूलो रकम लामो समयदेखि भाखा नाघेको देखिएको र ऋण जोखिम कोषमा २१ करोड ५० लाख ७९ हजार ३ सय ७५ जम्मा गरी भाखा नाघेको ऋण सुरक्षित गर्नुपर्नेमा ४ करोड ५९ लाख ३ हजार ८ सय ९३ मात्र जोखिम कोषको व्यवस्था गरेको पाइएको प्रतिवेदनमा खुलाइएको छ ।
१७ हजार ५६ जना सदस्य रहेको सहकारीको शेयर पूँजी १५ करोड ९६ लाख ६० हजार छ । जम्मा सम्पत्ती ३ अर्ब २५ करोड ४० लाख ३ सय ४७ रुपैयाँ रहेको सहकारीको बचत दायित्व मात्रै ७३ करोड ९८ लाख ७४ हजार रुपैयाँ छ ।
संस्थाको ऋण दायित्व ८४ करोड ८६ लाख ३० हजार ५ सय २४, सहकारीको भुक्तानी दिनुपर्ने दायित्व ९७ करोड ५५ लाख ७० हजार र अन्य दायित्व ४५ लाख ४९ हजार ७१ हजार रुपैयाँ छ । १ अर्ब ६९ करोड १२ लाख २६ हजार ६ सय ४५ रुपैयाँ ऋण लगानी गरेको सहकारीको भाखा नाघेको ऋण १८ करोड ३३ लाख २ हजार देखिएको छ । संस्थाको सञ्चित घाटा ६ करोड ६२ लाख ९० हजार ४ सय ४५ देखाइएको छ ।


















