
विराटनगर । विराटनगरका अधिकांश विद्यालयमा शुक्रबार पठनपाठन रोकिएको छ ।
भारी वर्षासँगै अधिकांश स्थान जलमग्न हुँदा पठनपाठन प्रभावित बनेको हो । विद्यालयहरुले १ दिनका लागि बिदा दिएका छन् ।
प्याब्सन विराटनगरका अध्यक्ष मोहन बुढाथोकीले विद्यालयहरुलाई परिस्थिति हेरेर निर्णय लिन सुझाव दिइएको छ । ‘बिहीबार रातिदेखि अविरल वर्षा भइरहेको छ । केही विद्यालयमा पानी जम्ने र डुबान हुने समस्या देखिएको छ,’ उनले भने, ‘विद्यालयमा पढ्नका लागि विद्यार्थी आउनसक्ने अवस्था भएन । त्यही भएर विद्यालयको पठनपाठन बन्द गर्नु परेको हो ।’
मौसम सफा भएर वातावरण सहज बनेपछि विद्यालयहरु पुनः सुचारु हुने जानकारी बुढाथोकीले दिए । लगातारको वर्षाले ठाउँठाउँमा डुबान हुँदा विद्यार्थीहरुलाई विद्यालय आउन कठिनाइ भएको उनको भनाइ छ ।

























