सरकारले प्रदेश लगानी सम्मेलनको तयारी थाल्यो

Share this
750shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ असोज १८, शुक्रबार १८:२१

विराटनगर । माघमा कोशी प्रदेशमा हुन लागेको ‘कोशी प्रदेश लगानी’सम्मेलनको तयारी प्रदेश सरकारले थालेको छ ।

कोशी प्रदेश सरकारले आगामी माघ ११, १२ र १३ गते प्रदेश लगानी सम्मेलन हुने भएको हो । कोशी प्रदेश लगानी सम्मेलनको मूल आयोजक समिति निर्माण गर्दै शुक्रबार आयोजक समितिको पहिलो बैठक सम्पन्न भएको छ ।

पहिलो बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संघ सरकार, स्थानीय सरकार र निजी क्षेत्रको समन्वय र सहकार्यमा सम्मेलन सफल पार्नुपर्ने बताए ।

ढुंगाभित्रबाट पनि पिपलको बोट उम्रिने बताउँदै, मुख्यमन्त्री कार्कीले भने, ‘प्रदेश सरकारसँग अनेकौं चुनौती छन् । पिपलको बोट उम्रिए जस्तै चुनौतीलाई पार गरेर अघि बढ्नु पर्ने छ । पिपल त अफ्ट्यारोमा पनि उम्रिन्छ भने हामी समृद्धिका लागि सबैले संकल्प गर्यौं भने लगानी सम्मेलन सफल पार्छौं । कानुनी जटिलतालाई सहजीकरण गर्नका लागि संघीय सरकारसँग आवश्यक पहल हुन्छ ।’

प्रदेश सरकारले निजी क्षेत्रका प्रदेश उद्योग वाणिज्य संघ, उद्योग संगठन मोरङ, मोरङ उद्योग व्यापार संघ, नेपाल चेम्बर अफ कमर्स प्रदेश समिति, नेपाल उद्योग परिसंघ, प्रदेश सहकारी संघ, विराट व्यापार संघलगायतलाई सहसंयोजक राखेर मूल आयोजक कमिटी बनाएको छ ।

त्यस्तै, दसैंअघि नै लगानी सम्मेलनको सचिवालय बनाउने तयारीसमेत भएको छ । कोशी प्रदेशका सभामुख संयोजक रहने गरी सल्लाहकार समिति, प्रदेश लगानी प्राधिकरणका प्रमुख कार्यकारीको नेतृत्वमा परियोजना तयारी समिति, आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर रानाको नेतृत्वमा लगानी सम्मेलन निर्देशन समिति, आन्तरिक मामिला तथा कानुनमन्त्री लीलावल्लभ अधिकारीको नेतृत्वमा नीतिगत तथा कानुनी सुधार गर्न समेत समिति गठन गरिएको छ ।

प्रदेश लगानी सम्मेलनको बैठकमा सहभागीहरुले स्वदेशी लगानीकर्तालाई पनि आकर्षित गर्नुपर्ने, भारतीय उद्योगपतिहरुलाई आकर्षित गर्ने गरी योजना बनाउनु पर्ने र कानुनी जटिलतालाई छिटो र छरितो ढंगले निरुपण गर्नुपर्ने सुझाव दिएका छन् ।

कोशी प्रदेश सरकारले यस वर्षको नीति तथा कार्यक्रम र बजेटमा लगानी सम्मेलन गर्ने घोषणा गरेर तयारी सुरु गरेको हो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.