झापामा ४ महिनाअघि खोला किनारमा गाडेको शव उत्खनन, ४ जना पक्राउ

Share this
664shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ असोज २१, सोमबार १३:४०

झापा । झापामा ४ महिनाअघि हत्या गरेर बिरिङ खोलाको किनारमा गाडेको शव प्रहरीले उत्खनन गरेको छ ।

बाह्रदशी गाउँपालिका–५ फूलबारीका २२ वर्षीय राजेश ठाकुरको शव उत्खनन गरिएको झापा प्रहरी प्रमुख एसपी मिलन केसीले जानकारी दिए । उनका अनुसार ठाउँ पहिचान गरी उत्खनन गरेर कंकाल निकाल्न नै ४ दिन लागेको थियो ।

दुर्गन्धित अवस्थामा बाह्रदशी–७ स्थित बिरिङ खोलाको किनारबाट शव निकालिएको केसीले बताए । टाउकाको हड्डी, खुट्टाको नली हड्डी, शरीरको अस्थिपञ्जर मात्र बाँकी रहेको अवस्थामा प्रहरीले शव फेला पारेको हो ।

प्रहरीले सुरुमा जेसीबी लगाएर राजेशको छिमेकी गणेश राजवंशीको आँगनमा र भान्सा कोठामा खनेको थियो । तर, त्यहाँ शव भेटिएन । बिरिङ खोलाबाट भने शव निकालिएको छ । राजेशको हत्यापछि गणेश वैदेशिक रोजगारीका लागि दुबई गएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

कपडाको आधारमा राजेशको सनाखत भएको हो । शवलाई पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको प्रहरीले जनाएको छ । डीएनए परीक्षण पनि गर्ने तयारी छ ।

एसपी केसीका अनुसार चक्कु प्रहार गरेर हत्या गरिएको खुलेको छ । हत्यापछि गणेशको घरको भान्सा कोठामा शव गाडिएको थियो । त्यहाँ सुरक्षित नहुने देखेपछि खोला किनारमा पुर्याएर गाडेको पाइएको प्रहरीको भनाइ छ ।

घटना लुकाउन पछि किचन ढलान गरी सम्म्याइदिएछन्,’ प्रहरी स्रोतले भन्यो । प्रहरीले ढलान गरेको किचन पनि जेसीबी लगाएर खनेको छ । राजेश गत जेठ १५ गतेदेखि बेपत्ता थिए ।

खोजतलासको माग गर्दै बुवा भीम ठाकुरले जेठ १८ गते इलाका प्रहरी कार्यालय बिर्तामोडमा निवेदन दिए । अनुसन्धान अघि बढाएको प्रहरी राजेशको हत्या भएको निष्कर्षमा पुगेको थियो । तर, शव फेला पर्न सकिरहेको थिएन ।

राजेशलाई हत्या गरेर घरभित्र गाडेको आशंकामा प्रहरीले असोज १७ गते छिमेकी गणेश राजवंशीको भान्सा कोठामा उत्खनन गरेको थियो । हत्यामा संलग्न रहेका गणेश अहिले दुबईमा छन् । घटना गराएर उनी विदेश गएको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनामा संलग्न भएको आशंकामा २० वर्षीया मुना मेचे (राजवंशी), उनका जेठाजु ३१ वर्षीय समीर राजवंशी, मुनाका १६ वर्षीय भतिज र स्थानीय २१ वर्षीय आशिष थापालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ । मुनाका पति अभय राजवंशी भने पहिलादेखि नै साउदी अरबमा छन् ।

हत्यापछि दुबई पुगेका गणेशलाई पनि झिकाउन पहल भइरहेको एसपी केसीले बताए । उनका अनुसार राजेशको हत्या गर्नुको कारण भने खुल्न बाँकी छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.