
दसैं सकिएको छैन, अन्य चाडपर्वहरू क्रमशः आइरहेका छन् । नेपाल एक बहुभाषी, बहुधार्मिक र बहुजातीय मुलुक हो । यहाँ मनाउने विभिन्न चाडपर्व, मेला, महोत्सवको कारण नेपाललाई महोत्सवहरूको देश पनि भनिन्छ । प्रत्येक दिन एक वा अर्को समुदायको लागि उत्सवको दिन हुन्छ । त्यो उत्सवमा सबै समुदाय रमाउँछन् । यही कारणले गर्दा त नेपाल फरक छ । विश्वका नागरिकको नजर नेपालमा छ । उनीहरू नेपालीको खुसीको कारण बुझ्न नेपाल आउँछन् । मुस्कान भित्रको रहस्य खोज्छन् ।
यस वर्षको पर्व वडादसैं आउँनै लाग्दा बाढी–पहिरोका कारण मुलुक शोकमा डुब्नुपर्यो । तर, पनि चाड त मनाउनै छ, जसो तसो, जहाँ भए पनि दसैंलाई नेपालीले बिदा गर्दैछन् । अब यसपछि आउँदैछ तिहार र छठ पर्व । यसपटक दूर दराजमा पुग्नुपर्ने नेपाली बाढीपहिरोले बाटोघाटो बगाएपछि आफ्नो थातथलोमा समेत पुग्न सक्ने अवस्था भएन । जुन ठाउँमा बसोबास गरेको हो त्यहीँ नै दसैं मनाए । केही त गाउँ–गाउँ सम्म पनि पुगे जोखिमपूर्ण यात्रा गर्दै । तर, सिमित ठाउँमा बाहेक दसैंको रौनक औपचारिकतामा मात्रै सिमित बन्यो ।
पर्वहरू सुरक्षित रूपमा मनाउने वातावरण बनाउनु राज्यको दायित्व हो । सडक सुरक्षादेखि टोल टोल सम्मको शान्तिसुरक्षाको चुनौती सुरक्षा निकायलाई छ । चाडपर्व नभनी नागरिकको सुरक्षामा खटिने सुरक्षाकर्मीलाई सम्मान गर्नै पर्छ । अनि, नागरिकले पनि सुरक्षाको वातावरण बनाउनमा सहयोग गर्नुपर्छ । नागरिक पनि विना बर्दीका प्रहरी हुन् । यो कुरा बुझ्नुपर्छ ।
सरसर्ती हेर्दा चाडबाडको बेला सडक दुर्घटनाको मुख्य कारक तत्त्व यात्रुको भीड, सडक तथा सवारीसाधनको अवस्था, चालकको लापरबाही आदि नै प्रमुख हुन् ।
चाडपर्वमा यातायातको आवागमन सँगै दुर्घटना पनि बाक्लिने गर्छ । चाडबाडका समयमा सडकमा सवारी आवागमनमा स्वाभाविक रूपमा बढोत्तरी हुने क्रमसँगै बढ्ने दुर्घटनाले सडक सुरक्षाप्रति गम्भीर प्रश्न उठाएको छ । नेपालमा सवारी दुर्घटना, त्यो पनि चाडपर्वका बेला हुने सवारी दुर्घटना प्रभावकारी तवरले तथ्यांक राख्ने कार्य हुन सकेको देखिँदैन । यसको प्रभावकारी अध्ययन र सडक सुरक्षालाई के कसरी प्रभावकारी बनाउने भन्ने सन्दर्भमा विगतमा व्यापक गृहकार्यसमेत गरिएको देखिँदैन । यो विषयमा सरकार गम्भिर बन्नुपर्छ ।
नेपालमा हरेक दिन सरदर ७ जनाले सडक दुर्घटनामा ज्यान गुमाउने गरेकामा दसैंका बेला यो आँकडामा वृद्धि हुने गरेको तथ्यांक छ । तसर्थ दसैंको घटस्थापनादेखि पूर्णिमासम्मको यो अवधि सबैभन्दा बढी दुर्घटना हुने अवधि पनि हो । यस पीडादायक परिस्थितिबाट मुक्तिका निम्ति सम्बन्धित सबै सरोकारवालाबीच समन्वय तथा सहकार्य नितान्त आवश्यक छ । सडक यातायातलाई प्रभावकारी, नियमित र सुरक्षित बनाउनै पर्ने आवश्यकता छ । सरकारले सडक यातायातलाई सुरक्षित बनाउन समिति नै गठन गरेको छ । समितिको काम प्रभावकारी बन्नुपर्छ ।
सरसर्ती हेर्दा चाडबाडको बेला सडक दुर्घटनाको मुख्य कारक तत्त्व यात्रुको भीड, सडक तथा सवारीसाधनको अवस्था, चालकको लापरबाही आदि नै प्रमुख हुन् । यस अवस्थामा यी पक्षको सुधारका निम्ति प्रयास हुनु महत्त्वपूर्ण छ । दसैंमा यात्रु आवागमनमा बढोत्तरी हुने हुँदा भीडलाई थेग्ने सवारीसाधनको व्यवस्थापनमा ध्यान पु¥याउनै पर्छ । नाजुक सडकको समेत मर्मतसम्भार जरुरी छ । सवारीसाधनलाई सडकमा व्यवस्थित रूपमा सञ्चालनका निम्ति ट्राफिक प्रहरीजस्ता नियामक निकायको भूमिका निकै महत्त्वपूर्ण हुन्छ ।
दसैं तिहारजस्ता मुख्य चाडबाडमा हुने सवारी दुर्घटना न्यूनीकरणका लागि सरकार, यातायात व्यवसायी, ट्राफिक प्रहरी तथा यात्रु स्वयंको सावधानी र सतर्कतालाई महत्त्वपूर्ण मानिनु आवश्यक छ । यसतर्फ सचेतना जगाउनेतर्फ पनि सम्बन्धित निकायको ध्यानाकर्षण होस् । चाडपर्व सुरक्षित बनुन् ।


















