होटलका सञ्चालकमाथि आक्रमण गर्ने २ जना पक्राउ

Share this
754shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ असोज ३०, बुधबार १८:००

विराटनगर । विराटनगरको मुन होटल तथा गीत गजलका सञ्चालकमाथि खुकुरी प्रहार गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मंगलबार साँझमा होटल सञ्चालक दिलिपकुमार भगतलाई खुकुरी प्रहार गरेको आरोपमा २ जनालाई प्रहरीले आज धरानबाट पक्राउ गरेको मोरङ प्रहरीका निमित्त प्रवक्ता इन्स्पेक्टर हेमराज ओलीले जानकारी दिए ।

भगतलाई खुकुरी प्रहार गरेको आरोपमा विराटनगर–१० का ४५ वर्षीय सावन दास र विराटनगर–१२ का ४२ वर्षीय विनोदकुमार राय कामत (अभय)लाई धरानबाट पक्राउ गरी विराटनगर ल्याइँदै गरेको इन्स्पेक्टर ओलीले बताए ।

पक्राउ परेका दुवै जना घटना हुनासाथ भारततर्फ भाग्ने योजना बनाए पनि धरान भागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । पक्राउ परेका २ जनासहित ४ जनाविरुद्ध प्रहरीमा जाहेरी परेको छ ।

जाहेरीमा नाममा उल्लेख भएका अन्य २ जनाको खोजी भइरहेको बताउँदै, इन्स्पेक्टर ओलीले भने, ‘पक्राउ परेका २ जनालाई विराटनगर ल्याएर सोधपुछ गरेपछि घटनाको यथार्थ बाहिर आउँछ । घटनामा नाम उल्लेख भएका बाहेक अन्य पनि संलग्न छन् कि भनेर त्यसतर्फ पनि अनुसन्धान अघि बढेको छ । फरार २ जनाको खोजी तीव्र पारिएकाले चाँडै उनीहरु पनि पक्राउ पर्नेछन् ।’

खुकुरी प्रहारबाट भगतको देब्रे हात र नाकको डाँडीमा पनि चोट लागेको छ । अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.