हिरासतमा रहेका पूर्वडीआईजी छविलाललाई कसले दियो अस्पताल बस्ने सुविधा ?

Share this
761shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ कात्तिक ४, आइतबार ११:५९

काठमाडौं । सहकारीको रकम अपचलनमा संलग्न भएको आरोपमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई अस्पताल बस्ने सुविधा दिइएको छ ।

कास्कीका एसपी श्यामबाबु ओलियाले जोशीलाई हिरासत छलेर अस्पतालमा बस्ने सुविधा दिएका हुन् । जोशीलाई अहिले पोखरास्थित फिस्टेल अस्पतालमा राखिएको छ ।

कास्की प्रमुखको रूपमा सरुवा भएर असोज १४ मा हाजिर भएपछि प्रहरी उपरीक्षक ओलियाले उनलाई अस्पताल बस्ने सुविधा दिएका हुन् । असोज ६ मा काठमाडौंबाट पक्राउ परेका जोशी यसअघि हिरासतमा थिए ।

असोज १५ बाट नै उनलाई अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय कास्की स्रोतले जानकारी दिएको छ ।

तत्कालीन गृहमन्त्री रवि लामिछानेले पक्राउ परेका व्यक्तिलाई अस्पतालमा राख्न मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकको सिफारिस अनिवार्य गरेका थिए ।

२०८१ वैशाख २४ मा आफैँले गरेको सो निर्णयअनुसार लामिछाने पनि अस्पताल बस्न पाउने छैनन् । उनलाई अहिले जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।

यसअघि पनि बिसन्चो भएको भन्दै जोशीले अस्पताल बस्ने प्रयास गरेका थिए । तर, तत्कालीन एसपी मोहन थापाले उनलाई अस्पताल बस्ने अनुमति दिएका थिएनन् ।

त्यसबेला स्वास्थ्य परीक्षण गराउँदा उनलाई निमोनिया देखिएको थियो । तर, अहिले निमोनिया मुक्त भएपछि पनि उनलाई अस्पताल राखिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.