‘हनी ट्रयाप’को अनुसन्धान जिम्मा सीआईबीलाई

Share this
793shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ कात्तिक २२, बिहीबार १२:४०

काठमाडौं । भैंसेपाटी प्रहरी प्रभागकी तत्कालीन इन्स्पेक्टर (प्रहरी निरीक्षक) बिनुकुमारी शाही जोडिएको ‘हनी ट्रयाप’ प्रकरणको थप अनुसन्धान गर्ने जिम्मा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पाएको छ ।

नेपाल प्रहरी प्रधान कार्यालयले यो प्रकरणको अनुसन्धान गर्ने जिम्मा सीआईबीलाई दिएको हो । जिम्मेवारी पाएसँगै सीआईबीले मंगलबारदेखि थप अनुसन्धान प्रक्रिया अघि बढाएको छ । ‘हनी ट्रयाप’ प्रकरणमा एसपी (प्रहरी उपरीक्षक) कमल थापा पनि मुछिएको सीआईबी स्रोतले बतायो ।

यो प्रकरणको ‘कनेक्सन’ विभिन्न जिल्लामा जोडिएको सीआईबीका प्रमुख एआईजी (प्रहरी अतिरिक्त महानिरीक्षक) दीपक थापाले बताए । अनुसन्धानका अहिलेसम्मका फाइल झिकाएर थप अनुसन्धानको प्रक्रिया थालिएको थापाले बताए ।

प्रहरी प्रभाग, भैंसेपाटीमा इन्स्पेक्टरकै संलग्नतामा प्रहरी चौकीमा लेनदेन गरेर असोज ६ गते ‘हनी ट्रयाप’ प्रकरण मिलाइएको जानकारी प्रहरी अधिकारीले पाएका थिए । ललितपुर प्रहरी प्रमुख एसपी शेखर खनालले छानबिन सुरु गर्दा इन्स्पेक्टर शाहीको भूमिका शंकास्पद देखिएको हो ।

प्रहरीले मुद्दामा उनलाई पनि प्रतिवादी बनाएको छ । तर, पक्राउ पुर्जी जारी भएपछि शाही फरार छिन् । छानबिन एवं अनुसन्धानका क्रममा प्रतिवादी ताज स्माइलसँग एसपी थापाले शाहीको चिनजान गराइदिएको पत्ता लागेको थियो ।

सुनसरी प्रहरी प्रमुख भएर काम गर्दा स्माइलसँग थापाको चिनजान भएको प्रहरी स्रोतले बतायो । थापा र स्माइलबीच पटकपटक भेटघाट र कुराकानी हुने गरेको पनि पत्ता लागेको छ ।

इस्लामको समूहले एक जना युवती प्रयोग गरेर पूर्वका व्यवसायीसँग बलात्कारको मुद्दा लगाइदिने भन्दै बार्गेनिङ गरेको अनुसन्धानबाट खुलेको छ । ६० लाख रुपैयाँबाट बार्गेनिङ सुरु भएपनि अन्तिममा ३० लाखमा सहमति गरेको पत्ता लागेको हो ।

प्रहरीका अनुसार, सहमतिपछि ७ लाख रुपैयाँ व्यवसायीले तुरुन्तै इस्लामले भनेअनुसार भीमादेवी बुढाथोकीको नाममा रहेको खातामा हालिदिएका थिए । बाँकी रहेको २३ लाख रुपैयाँमध्ये १३ लाख रुपैयाँ अर्को दिन बैंकमा गएर फेरि बुढाथोकीकै नामको बैंक खातामा जम्मा गर्न लगाएको फेला परेको छ ।

बुढाथोकीले भने आफ्नो बैंकको चेकबुक र एटीएम कार्ड स्माइलले नै चलाउने गरेको बयान दिएकी छन् । इन्स्पेक्टर शाहीका सवारी चालक सहायक हवल्दार महेन्द्र हमाल बैंकमा पैसा जम्मा गर्न जाँदा व्यवसायीसँगै बैंक पुगेको खुलेको छ । ललितपुर प्रहरीले हमाललाई समेत पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

 

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.