
विराटनगर । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले २०८४ को चुनाव अगाडि नै संविधान संशोधन भइसक्ने बताएका छन् ।
विराटनगर विमानस्थलमा मंगलबार बिहान सञ्चारकर्मीसँग कुराकानी गर्दै पोखरेलले आउने चुनावमा जनमत विभाजन हुन नदिनेगरी संविधान संशोधन हुने स्पष्ट पारेका हुन् । जनमत विभाजन भएर प्रमुख दलहरूमाथि साना दलले शासन गर्ने परिपाटी बढेको उनको जिकिर छ ।
साना दलले ठूला दलमाथि गरेको शासन चुनावबाट अन्त्य गर्ने हिसाबले नै संविधान संशोधनको विषय अगाडि बढाएको भन्दै पोखरेलले २०८४ को चुनावपछि राजनीति गर्न चाहाने दल बलियो हुनुपर्ने धारणा राखे । साना दलहरूले म्याजिक नम्बर पायौं भन्ने अर्थमा शासन गर्ने परिपाटी बेहोर्नु परेकोले त्यो अन्त्य गर्न खोजिएको महासचिव पोखरेलको भनाइ थियो ।
शासन गर्ने भनेको जनताले पत्याएका दलले हो भन्दै जसले जनताको जनादेश प्राप्त गर्छ त्यसले शासन गर्ने प्रवृत्ति बनाउने गरी संविधान संसोधन गर्ने उनको भनाइ छ । जनताको जनादेश सही ढंगले शासकीय नेतृत्वमा रूपान्तरित हुन सकोस् भन्ने उद्देश्यले संविधान संसोधन हुने पोखरेल बताउँछन् ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’प्रति संकेत गदै उनले सानो भएर शासन गर्नु उचित नहुने बताए । लोकतन्त्रमा सानो हुनेले म्याजिक नम्बर भन्दै अरू दलमाथि शासन गर्न खोज्ने परिपाटी अन्त्य हुनुपर्नेमा पोखरेलको जोड छ ।

























