
विराटनगर । स्थानीय तह उपनिर्वाचनमा आज उम्मेदवारविरुद्ध उजुरी दिने समय रहेको छ । मंसिर २ गते उम्मेदवारले मनोनयन दर्ता गरेका थिए ।
मनोनयन दर्ता गरेका उम्मेदवारविरुद्ध आज बिहान १० बजेदेखि ३ बजेसम्म उजुरी दिने समय तोकिएको हो ।
आज दिउँसो ३ बजेदेखि भोलि मंसिर ४ गते बेलुका ५ बजेसम्म मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गरी मंसिर ४ गते बेलुका ५ बजेदेखि ६ बजेसम्ममा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको नामावली प्रकाशन गर्नेछ ।
स्थानीय तहको आगामी उपनिर्वाचनका ४४ पदका लागि लागि ४ सय ७ जना मैदानमा उत्रिएका छन् ।
गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखमा रिक्त ८ पदका लागि ३५ महिला, ४८ पुरुष र १ अन्य गरी ८४ जनाको उम्मेदवारी दर्ता भएको छ ।
गाउँपालिका र नगरपालिकाको वडाध्यक्षको रिक्त ३४ पदका लागि २९ महिला, २ सय ९३ पुरूष र १ अन्य गरी जम्मा ३ सय २३ जनाले उम्मेदवारी दिएका छन् । मंसिर १६ गते उपनिर्वाचन हुँदैछ ।

























