
विराटनगर । ओखलढुंगामा १३ वर्षीय बालकले ८२ वर्षीया वृद्धाको हत्या गरेका छन् । खिजीदेम्बा गाउँपालिका–६ की ठगमाया सुनुवारको हत्या भएको हो ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसएसपी भीमबहादुर दाहालका अनुसार ठगमाया मंसिर ६ गते आफ्नै भान्सा कोठामा मृत फेला परेकी थिइन् । घटना शंकास्पद देखिएपछि प्रहरीले अनुसन्धान थालेको थियो । अनुसन्धानका क्रममा उनको हत्या भएको पत्ता लागेको हो ।
हत्यामा ठगमायाकै नाति नाता पर्ने १३ वर्षीय बालकको संलग्नता यकिन भएको दाहालले बताए । ‘वृद्धाले मादक पदार्थ सेवन गरेर अपशब्द बोल्दै गालीगलौज गरेपछि बालकले फलामको ढुंग्री (सोते)ले हानेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ,’ उनले भने, ‘त्यसअघि पनि वृद्धाले कुटपिट र गालीगलौज गर्ने गरेको बालकले बताएका छन् ।’
प्रहरीले सोधपुछ गर्दा सधैं बिना कारण अपशब्द बोल्दै गालीगलौज गर्ने र पिट्ने गरेका कारण सहन नसकेर ढुंग्रीले हानेर वृद्धाको हत्या गरेको बालकले बताएका छन् । फलामको ढुंग्रीले ३ पटक प्रहार गरेपछि वृद्धा ढलेको र त्यहीं छाडेर हिँडेको बालकले बताएको प्रहरीले जनाएको छ ।
घटनामा संलग्न बालकलाई प्रहरीले मंगलबार पक्राउ गरेको छ । उनीविरुद्ध कर्तव्य ज्यान सम्बन्धी कसुरमा मुद्दा चलाउन अदालतबाट म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

























