मोरङमा अपहरण र सामूहिक बलात्कार : २ जना अभियुक्त ११ वर्षपछि पक्राउ

Share this
760shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ मंसिर १२, बुधबार १६:३१
पेशलकुमार सुनुवार र मनोज मण्डल ।

विराटनगर । मोरङमा ११ वर्षअघि भएको अपहरण र सामूहिक बलात्कार (जबरजस्ती करणी)को घटनामा संलग्न दुई जना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।

विराटनगर महानगरपालिका–१३ का ३८ वर्षीय पेशलकुमार सुनुवार र विराटनगर–१ का ३८ वर्षीय मनोज मण्डललाई घटना भएको ११ वर्षपछि पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए । उनका अनुसार सुनुवारलाई यसअघि नै अदालतले दोषी ठहर गर्दै कैद सजायको फैसला गरिसकेको थियो ।

घटना भएदेखि नै फरार रहेका कारण मण्डलको मुद्दा मुलतबीमा थियो । डीएसपी जोशीका अनुसार एउटा समूहले २०७० साल वैशाख १ गते युवतीलाई अपहरण गरेर साविकको कटहरी गाविस (गाउँ विकास समिति)–३ मा लगी सामूहिक बलात्कार गरेको थियो ।

प्रहरीले घटनामा संलग्नविरुद्ध अपहरण र जरबजस्ती करणी मुद्दा चलायो । तर, घटनामा संलग्न भनिएकामध्ये सुनुवारलाई जिल्ला अदालत मोरङको २०७१ असार २२ गते सफाइ दिएको थियो । अदालतले सफाइ दिएपछि उनी छुटेका थिए ।

त्यही मुद्दा उच्च हुँदै सर्वोच्च अदालतसम्म पुग्यो । सर्वोच्च अदालतले जिल्लाको फैसला उल्टाउँदै २०७१ मंसिर ९ गते सुनुवारलाई ६ वर्ष ९ महिना २४ दिन कैद सजाय हुने फैसला गरेको प्रहरीले जनाएको छ । तर, सजाय भुक्तान नगरिकन लामो समयदेखि भागिरहेका सुनुवालाई पक्राउ गर्न प्रहरी सफल भएको जोशीले बताए ।

उनलाई पक्राउ गरेर प्रहरीले मोरङमा अदालतमा पेस गरेको थियो । प्रहरीले पक्राउ गरेर बुझाएपछि सुनुवारलाई सजाय भुक्तानका लागि कारागार चलान गरिएको अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले बताए ।

यसअघि सुनुवार १ वर्ष २ महिना ६ दिन कारागार बसेका थिए । उनले अब ४ वर्ष ९ महिना १४ दिन कैद सजाय भुक्तान गर्नुपर्ने अदालतले जनाएको छ ।

अपहरण र सामूहिक बलात्कारमा संलग्न भनिएका मण्डलविरुद्धको मुद्दा भने मुलतबीमा थियो । प्रहरीले पक्राउ गरेर बुझाएपछि उनलाई पनि मोरङ अदालतले कारागार चलान गर्न आदेश दिएको छ ।

थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश भएको सूचना अधिकारी बुढाथोकीले बताए । उनका अनुसार प्रतिवादीको बयान र थुनछेक बहस सकिएर अदालतबाट आदेश आएपछि मण्डललाई कारागार चलान गरिएको हो ।

सुनुवार र मण्डललाई प्रहरीले गत सोमबार पक्राउ गरेको थियो । लामो समयदेखि फरार रहेका उनीहरुलाई खोजी गर्ने क्रममा फेला पारेर पक्राउ गरिएको डीएसपी जोशीले बताए ।

 

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.