
काठमाडौं । नेपाल प्रहरीकी इन्स्पेक्टर बिनुकुमारी शाही जोडिएको हनी ट्रयाप प्रकरणमा जिल्ला अदालत ललितपुरले आदेश गरेको छ ।
न्यायाधीश टेकराज जोशीको इजलासले मुख्य योजनाकारलाई कारागार चलान गर्न, २ जनालाई धरौटीमा र १ जनालाई साधारण तारेखमा छाड्न आदेश दिएको हो । युवती प्रयोग गरेर बलात्कार मुद्दामा फसाउन खोजेको घटनामा अभियुक्तविरुद्ध आपराधिक लाभ र संगठित अपराधको कसुरमा मुद्दा दर्ता भएको थियो ।
यस प्रकरणका मुख्य योजनाकार ताज इस्लामलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न अदालतले आदेश दिएको छ । त्यसलगत्तै उनी कारागार चलान भएका छन् ।
प्रतिवादी भीमादेवी बुढाथोकीलाई २ लाख र सुस्मा विकलाई १ लाख धरौटीमा छाड्ने आदेश भएको छ । अदालतको आदेशपछि प्रतिवादी प्रहरी सहायक हवल्दार महेन्द्र हमाल साधारण तारेखमा छुटेका छन् ।
यो मुद्दामा ६ जना प्रतिवादी थिए । इन्स्पेक्टर शाही र सुनसरीका दर्शन पोखरेल फरार छन् । फरार भएकाको हकमा आदेश आउन बाँकी छ ।

























