कर्तव्य ज्यान मुद्दामा सर्वाेच्चको नजिर : ‘पीडितको आत्मसन्तुष्टिमा नजरअन्दाज गर्न मिल्दैन’ (पूर्णपाठ)

Share this
685shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ मंसिर २१, शुक्रबार ०६:०५

विराटनगर । कर्तव्य ज्यान मुद्दामा सर्वाेच्च अदालतले अपराधबाट पीडित भएका व्यक्तिको न्याय प्राप्ति र आत्मसन्तुष्टिलाई नजर अन्दाज गर्न नमिल्ने नजिर स्थापित गरेको छ ।

न्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले २०७९ भदौ २८ गते पीडितको न्याय प्राप्ति र आत्मसन्तुष्टिमा पुग्न सक्ने चोटका विषयमा नजरअन्दाज गर्न नसकिने व्याख्या गरेको हो ।

धादिङको तत्कालीन दार्खा गाउँ विकास सिमिति– ८ का चन्द्रबहादुर तामाङ गुरूङसमेत प्रतिवादी भएको मुद्दामा सर्वोच्चले यस्तो व्याख्या गरेको हो ।

‘कुनै एक व्यक्तिलाई अन्य प्रतिवादीहरूसँग यसलाई मार्नुपर्छ भनी मिटिङ बसी अन्य व्यक्तिहरूसमेतको संलग्नतामा मृतक आउने बाटो ढुकी मृतकलाई आएपछि मार्नुपर्छ भन्ने पूर्वयोजना र मनसायसहित मृतकलाई खुकुरीजस्तो धारिलो हतियारले एकपटक मात्र नभई पटकपटक प्रहार गरेको र मृतकको मृत्यु भयो भन्ने कुराको यकिन गरेर मात्र मृतकलाई घटनास्थलमा छोडी गएको परिवेशबाट प्रतिवादीको आपराधिक मनसाय आपराधिक कार्यमा परिणत भएको स्पष्ट देखिने,’ सर्वाेच्चको फैसलाको प्रकरण नम्बर १३ मा भनिएको छ,‘आफूले गरेको कार्यप्रति कुनै पनि पश्चाताप र हिनताबोध महसुस नगर्ने प्रतिवादीले केवल अदालत सामु अपराध गरेको तथ्यमा साबिती रही गरेको बयानका आधारमा मात्र निजलाई कानूनबमोजिमको सजायमा छुट दिनुपर्छ भन्नु युक्तिसङ्गत नहुने । अपराध घटाई घटनाको बारेमा स्वीकार गरी अदालतलाई मैले सहयोग गरेँ भनेको आधारमा मात्र अदालतले अपराधकर्तालाई सजायमा छुट दिँदै जाने हो भने एकातर्फ त्यस्ता अपराधकर्तालाई पुनस् समाजमा गएर अर्को अपराध गर्नलाई प्रेरित गरेसरह हुन्छ भने अर्कोतर्फ अपराधबाट पीडामा परेका व्यक्तिहरूको न्याय प्राप्ति र आत्मसन्तुष्टिमा पुग्न सक्ने चोटको नजरअन्दाजसमेत गर्न नसकिने । यसबाट समाजमा पर्नसक्ने असरलाई समेत कम आँकलन गर्न नमिल्ने ।’

२०६७ कात्तिक १ गते शिव थापामगरको दार्खा– ६ मा हत्या भएको थियो । विक्रम भन्ने टेकबहादुर तामाङको पूर्वयोजनामा आशबहादुर तामाङ, दुर्गाबहादुर तामाङ, धीरज तामाङसमेतको मिलेमतोमा राजेन्द्र विक, चन्द्रबहादुर तामाङ, विक्रम भन्ने टेकबहादुर तामाङ, आशबहादुर तामाङ, दुर्गाबहादुर तामाङ र धीरज तामाङसमेतको संलग्नता देखिएको थियो । जिल्ला अदालत धादिङले प्रतिवादीमध्ये राजेन्द्र विक र चन्द्रबहादुर तामाङलाई सर्वस्वसहित जन्मकैद, विक्रम भन्ने टेकबहादुर तामाङलाई १५ वर्ष कैद, प्रतिवादीहरूमध्ये आशबहादुर तामाङ, दुर्गाबहादुर तामाङ र धीरज तामाङलाई जनही ५ वर्ष कैदको फैसला गरेको थियो । फत्तबहादुर गुरूङ, टिकाराम तामाङ, रामशरण थापा, मनबहादुर तामाङ र विजय गुरूङले सफाइ पाउने फैसला २०७० पुस १६ गते गरेको थियो । तत्कालीन पुनरावेदन अदालत पाटनले २०७२ असार २० गते जिल्लाको फैसला सदर हुने ठहर गरेको थियो । धादिङ जिल्ला अदालतको फैसलाविरुद्ध प्रतिवादी टेकबहादुर तामाङ (गोजे) पुनरावेदन हुँदै सर्वाेच्च अदालत पुगेका थिए । सर्वाेच्चले जिल्ला हुँदै पुनरावेदन अदालतले गरेको फैसलालाई सदर गरेको थियो ।

 

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.