झापामा वृद्धाको हत्या, दुई जना पक्राउ

Share this
716shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ मंसिर २३, आइतबार ११:१४

झापा । झापा जिल्लाको झापा गाउँपालिका–६ पुष्पाञ्जली टोलमा एक जना वृद्धाको हत्या भएको छ । ८३ वर्षीया फूलमाया मुर्मूको हत्या भएको प्रहरीले जनाएको छ ।

फूलमाया आफ्नै घरमा शनिबार दिउँसो मृत फेला परेकी थिइन् । घटना शंकास्पद देखिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो । प्राम्भिक अनुसन्धानबाट हत्या गरिएको पुष्टि भएको झापा प्रहरीका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले बताए ।

उनका अनुसार हत्यामा संलग्नको खोजीका लागि जिल्ला प्रहरी कार्यालय झापासहित विभिन्न युनिटबाट प्रहरी परिचालन गरिएको थियो । केनाइन शाखा धरानबाट ल्याइएको तालिम प्राप्त कुकुर र प्रहरीसमेतले हत्यामा संलग्नको पहिचान गरेको चन्दको भनाइ छ ।

वृद्धाको हत्यामा संलग्न २ जनालाई प्रहरीले पक्राउ गरेको छ । झापा गाउँपालिका–७ का २८ वर्षीय अजय यादव र शिवसताक्षी नगरपालिका–७ का २४ वर्षीय अशोक यादव पक्राउ परेका हुन् । दुवै जना मिलेर कलको ह्याण्डिल र फरुवाले टाउको, चिउँडोलगायत शरीरका विभिन्न भागमा प्रहार गर्दा वृद्धाको मृत्यु भएको जानकारी डीएसपी चन्दले बताए ।

उनका अनुसार हत्या गरेर उनीहरुले वृद्धाको साथमा भएको मोबाइल र साइकल लुटेर लगेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । दुवै जनालाई झापा गाउँपालिका–७ मदरगाछबाट पक्राउ गरिएको चन्दले बताए ।

हत्यामा प्रयोग गरिएको ह्याण्डिल र फरुवा तथा लुटिएको सामानसहित परेका दुवै जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउने प्रहरीको तयारी छ । घटनाको थप अनुसन्धान भइरहेको जानकारी डीएसपी चन्दले दिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.