प्रधानमन्त्रीले उद्घाटन गरे आफैं पढेको विद्यालयको भवन

Share this
654shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ मंसिर २६, बुधबार १४:१४

तेह्रथुम । प्रधानमन्त्री केपी शर्मा ओलीले आज (बुधबार) आफैं पढेको विद्यालय भवनको उद्घाटन गरेका छन् । ओलीले प्रारम्भिक शिक्षा लिएको प्रणामी माध्यमिक विद्यालयको नवनिर्मित भवनको उद्घाटन गरेका हुन् ।

तेह्रथुमको आठराई गाउँपालिका–४ इवामा रहेको उक्त विद्यालयमा १८ कोठे भवन निर्माण भएको छ । रिबन काटेर भवनको उद्घाटन गरेपछि प्रधानमन्त्री ओलीले विद्यालयका विद्यार्थी, शिक्षक, स्थानीय लगायतसँग अन्तरक्रियासमेत गरेका छन् ।

विद्यालयका प्रधानाध्यापक अमृतबहादुर बुढाथोकीका अनुसार ओलीले उक्त विद्यालयमा कक्षा ३ सम्म अध्ययन गरेका थिए । विद्यालय भवन दक्षिण कोरियाको युम होङ गिल ह्युमन फाउण्डेसनको सहयोगमा निर्माण गरिएको हो ।

भवन निर्माणमा फाउण्डेसनले ४ करोड ४९ लाख ६० हजार, कोशी प्रदेश सरकारको २१ लाख ४० हजार र आठराई गाउँपालिकाको ६९ लाख लगानी रहेको छ । पुरानो भवन जीर्ण भएर पठनपाठनमा समस्या भएपछि नयाँ भवन निर्माणका लागि प्रधानमन्त्री ओलीलाई पहल गरिदिन आग्रह गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भीम घिमिरेले बताए ।

उनका अनुसार प्रधानमन्त्री ओलीकै आग्रहका युम होङ गिल ह्युमन फाउण्डेसन दक्षिण कोरियाको भवन निर्माणमा लगानी गरेको थियो । भवन उद्घाटन कार्यक्रममा नेपालका लागि दक्षिण कोरियाली राजदूत पार्क ते योङ, युम होङ गिल ह्युमन फाउण्डेसनका पार्क यु सुनलगायतको उपस्थिति रहेको जानकारी घिमिरेले दिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.