
काठमाडौं । ललितपुर जिल्ला अदालतले प्रहरी निरीक्षक विनुकुमारी शाहीलाई ५ लाख धरौटीमा छाड्न आदेश दिएको छ ।
युवती प्रयोग गरेर बलात्कार मुद्दामा फसाउने भन्दै रकम असुलेको घटनामा संलग्न भएको आरोप लागेपछि उनी फरार थिइन् । उनी हिजो आइतबार जिल्ला अदालत ललितपुरमा उपस्थित भएकी थिइन् ।
न्यायाधीश रिताकुमारी बख्रेलको इजलासले उनलाई ५ लाख धरौटीमा रिहा गर्न आदेश गरेको अदालतका प्रवक्ता राम सजिवन महतोले जानकारी दिए ।
इन्सपेक्टर शाहीसहित ६ जनालाई प्रतिवादी बनाउँदै आपरापधिक लाभ र संगठित अपराधको कसुरमा ललितपुर जिल्ला अदालतमा मुद्दा दायर भएको थियो । १३ मंसिरमा न्यायाधीश टेकराज जोशीको इजलासले घटनाको मुख्य योजनाकार भनिएका ताज इस्लामलाई थुनामा पठाउने आदेश गरेको थियो ।
अर्का प्रतिवादी भीमादेवी थापालाई २ लाख र सुस्मा विकलाई जनही क्रमशः २ लाख र १ लाख धरौटीमा छाड्न आदेश दिएको थियो । अर्का प्रतिवादी प्रहरी सहायक हवल्दार महेन्द्र हमालले भने साधारण तारेखमा छाड्ने आदेश भएको भएको थियो ।

























