
काठमाडौं । प्रहरीले भक्तपुरको सूर्यविनायक नगरपालिका– २ बालकोटमा मृत भेटिएका दुई जना हत्याको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।
सोमबार खोटाङ घर भएका ५६ वर्षीय कुलप्रसाद आचार्य र उनका २२ वर्षका छोरा प्रविणको हत्या भएको थियो । दुई जनाको हत्या आरोपमा मिलन आचार्यलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार २५ वर्षीय मिलन कुलप्रसादको जेठा छोरा हुन् ।
मृत भेटिएका कुलप्रसाद हुलाकका कर्मचारीसमेत हुन् । उनी जिल्ला हुलाक खोटाङका निमित्त प्रमुखसमेत थिए ।
उनीहरुको हत्या कृलप्रसादकै जेठा छोरा मिलनबाट भएको खुलेको अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईले बताए । महाराजगञ्जबाट पक्राउ परेका मिलनले घटनामा आफ्नो संलग्नता स्वीकार गरेको प्रहरीले बताएको छ । उनले पारिवारिक तनाबका कारण आवेगमा आएर हत्या गरेको बयान दिएका छन् ।

























