गाउँपालिका अध्यक्षसँग शिकार खेल्न जाँदा गयो ज्यान, माओवादीको दबाबमा पीडित परिवारै विस्थापित

Share this
757shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ पुस २४, बुधबार १७:००

विराटनगर । गाउँपालिका अध्यक्षसँग शिकार खेल्न जाने क्रममा शंकास्पद मृत्यु भएका युवकको परिवार नै विस्थापित हुने गरी पाँचथरमा माओवादीले दबाब दिएको खुलेको छ ।

नेकपा माओवादी केन्द्रबाट गाउँपालिका अध्यक्षमा निर्वाचित पाँचथर मिक्लाजुङ गाउँपालिका अध्यक्ष अमर माखिमसँग सिकार खेल्न गएका २५ वर्षीय तेजबहादुर थेगिमको शंकास्पद मृत्यु भएको घटना महिना दिनसम्म गुपचुप रहेको थियो । यसबीचमा उल्टै मृतकका परिवार गाउँबाटै विस्थापित बनेको छ ।

यो घटनाबारे प्रहरीमा उजुरी नगर्न भन्दै गाउँपालिका अध्यक्ष माखिमसहित माओवादीका नेताहरूले तीव्र दबाब दिएपछि युवकको परिवार मिक्लाजुङ–७ लिम्बाबाट विस्थापित भएको उनका छिमेकीहरूले जानकारी दिएका छन् ।

स्थानीयवासीले दिएको जानकारी अनुसार तेजबहादुर गत मंसिर २१ मा अध्यक्ष माखिमसँग सिकार खेल्न जैसीभीर जंगल गएका थिए । करिब १० जनाको समूहले दुईवटा घोरलसमेत मारेको थियो ।

‘मारेका घोरल कन्याटारमा ल्याएर अध्यक्ष माखिमसहित केही व्यक्तिले इमर्जेन्सी कामका लागि जानुपर्ने भयो, बनाएर खानू भनेर हामीलाई दिएका थिए’, स्थानीयले भनेका छन् ‘उनीहरूले तेजबहादुरको शव मोरङको उर्लाबारीस्थित मंगलबारे ट्रमा सेन्टर पु¥याई हतारहतार पोस्टमार्टम र अन्त्येष्टि गर्न लगाएका थिए ।’

परिवारका सदस्यले मृत्युको खबर भोलिपल्ट मात्रै पाएको र मृत्युबारे बुझ्दा पालिका अध्यक्ष माखिमसहितका व्यक्तिहरूले विभिन्न कारण देखाएका थिए । ‘कसैले के कारण देखाए, कसैले के पूरै शंकास्पद देखिएपछि उजुरी गर्न खोजेको थियौं, तर अध्यक्षसहितका माओवादीका नेताहरूले फकाएर, धम्क्याएर रोके’ नाम खुलाउन नचाहने युवकका छिमेकीहरूले भनेका छन् ।

मृतककी दिदी विष्णुमायाका अनुसार तेजबहादुरका साथी राजकुमार तामाङले भोलिपल्ट बिहान ७ बजे फोन गरेर जंगलमा गोलिया काट्न जाँदा भाइ लडेर घाइते भएको छ, उपचार गर्न ल्याउँदै छौं भनेका थिए । झापाको बैगुनधुरा घर भएकी तेजबहादुरकी दिदी विष्णुमायाले भनिन्, ‘उनैले ट्रमा सेन्टरमा बोलाएपछि हतारहतार पुगें । त्यहाँ पुग्दा भाइ बितिसकेकाले पोस्टमार्टम गर्न लागिएको भने ।’

उनीहरूले नै आफूलाई प्रहरी कार्यालय लगेर सद्गतका लागि निवेदन दिन लगाएको विष्णुमायाले बताइन् । ट्रमा सेन्टर ल्याइपु¥याउँदा नै उनको मृत्यु भइसकेको अस्पतालका डाक्टर प्रोमिस बुढाथोकी बताउँछन् ।

मिक्लाजुङ–७ का वडा सदस्य सिंहराज तामाङ दाहसंस्कार गरिसक्दासम्म घटनाबारे आफूलाई थाहै नपाएको बताउँछन् । गाउँपालिका अध्यक्ष अध्यक्ष माखिमले भने घटनाबारे आफूलाई पूरै जानकारी नभएको बताएका छन् ।

तेजबहादुरलाई अरिंगालले टोकेर बिरामी भएको भनेर आफूलाई खबर गरिएको उनको भनाइ छ । तर, प्रत्यक्षदर्शीहरुले भने तेजबहादुर गाउँपालिका अध्यक्षसँग सिकार खेल्न जाँदै गरेको आफूहरूले देखेको बताएका छन् ।

यो घटनामा जिल्ला प्रशासन र जिल्ला प्रहरी नेतृत्वबीच नै असमझदारी उत्पन्न भएको छ । प्रशासनका अनुसार पाँचथर प्रहरीले माओवादी नेताहरूको दबाबमा उजुरी दर्ता गर्न नमानेका कारण अहिलेसम्म घटना गुपचुप जस्तै रहेको हो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.