
विराटनगर । धरानका मेयर हर्क साम्पाङले अख्तियारको प्रश्नमा जवाफ फर्काउँदै, नेपालमा राम्रो काम गर्नेलाई किन खेदेको भन्दै उल्टै प्रश्न गरेका छन् ।
श्रमदानबाट काम गर्दा पनि अख्तियारले मुद्दा लगाएकोमा आफू छक्क परेको उनको भनाई छ ।
उनीविरुद्ध श्रम संस्कृति पार्क निर्माण, खानेपानी आयोजनाहरु निर्माण र सुम्निमा पारुहाङको मुर्ती निर्माणमा अख्तियारको दुरुपयोग गरेको र अनियमितता भएको भन्दै अख्तियारमा उजुरी परेको छ ।
शुक्रबार प्रमुख सापाङले अख्तियारलाई पत्र लेख्दै जवाफ फर्काएका हुन् । अख्तियारले प्रमुख सापाङलाई श्रम संस्कृति पार्कबारेमा पत्र पठाएको थियो ।
त्यसको जवाफ उनले ऐन विपरीत कुनै किसिमको योजना नगरिएको जानकारी गराएका छन् । फोहोरै फोहोर रहेको श्रम संस्कृति पार्कलाई बगैँचाको रूपमा परिणत गरिएको उनको भनाइ छ ।
उनले भनेका छन्, ‘यो पार्क कुनै बजेटको योजना नभएर जनताको श्रम प्रतिको सम्मान र धमदान अनि योगदानको इतिहास हो । बजेटको काम नभएकोले सार्वजनिक खरिद गर्न नपरेको जानकारी गराउँदछु १ जे गर्दैछन् जनताले आफ्नै खर्चले गर्दैछन् । सरकारी पैसा प्रयोग भएको छैन । दाताले खाना खानु भनेर दिएको पैसाको खाना खाको कुरा सरकारले खोज्नु हुन्न । नेताहरूले विदेश भ्रमणमा कति खाए कार्यकर्ताले सभा सम्मेलनमा कति खाए राज्यको कोष कसरी दुरुपयोग भयो र हुँदैछ त्यसतर्फ ध्यान दिनु उचित हुन्छ ।’
प्रमुख सापाङले धरानमा पानीको दुःख नहोस् भनेर निर्वाचित भएदेखि खोला–खोली जोडेर धरानेलाई पानी खुवाएको उल्लेख गरेका छन् । उनले त्यो देखिनसहेर उजुरी हालेको बताए ।

























