
काठमाडौं । सामाजिक सञ्जालको दुरूपयोग गरी चरित्रहत्या गरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।
रामेछाप खाँडादेवी गाउँपालिका–८ धुलेबेसी घर भई काठमाडौं महानगरपालिका–१३ बस्ने १९ वर्षीय श्रीकृष्ण कार्की र भोजपुर षडानन्द नगरपालिका–५ घर भई काठमाडौं–६ बौद्ध नयाँ बस्ती बस्ने ३१ वर्षीय सरोज कटुवाललाई चरित्रहत्या गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
साइबर ब्यूरोको टोलीले श्रीकृष्णलाई आइतबार र सरोजलाई सोमबार पक्राउ गरेको हो ।
पक्राउ परेकाहरुले प्रेम सम्बन्ध भएको समयमा खिचिएका तस्बिर तथा भिडियोहरू सम्बन्ध बिग्रिएपछि पीडितका आफन्त तथा साथीलाई सामाजिक सञ्जालको म्यासेन्जरमा पठाए चरित्रहत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
पक्राउ परेकाहरुविरुद्ध विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा जिल्ला अदालत काठमाडौंबाट म्याद थप गरी अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।

























