
धनकुटा। धनकुटा बजारमा बुधबार दिउँसो ७३ वर्षीया वृद्धा लुटिएकी छन् । बैंकबाट वृद्धभत्ता लिएर फर्किरहेको अवस्थामा वृद्धाबाट नगद लुटिएको हो ।
धनकुटा नगरपालिका–१० की ७३ वर्षीया रत्नमाया तामाङको करिब डेढ लाख रुपैयाँ लुटिएको प्रहरीले जनाएको छ । धनकुटा प्रहरी प्रमुख एसपी श्यामसिंह चौधरीका अनुसार हुलाक टोलस्थित जिल्ला अस्पतालअगाडि सडकमा हिँडिरहेका बेला वृद्धाको रकमसहितको झोला लुटिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
माछापुछ्रे बैंकको शाखा कार्यालयबाट रकम झिकेर फर्किरहेका बेला बजारमा एक जना युवक वृद्धाको साथमा भएको झोला खोसेर भागेको चौधरीले बताए । घटनाको दृश्य सीसी क्यामेरामा कैद छ ।
बैंकबाट निकालेको वृद्धभत्ताको रकम १२ हजार र वृद्धासँग भएको अरुसहित गरेर करिब डेढ लाख रूपैयाँ लुटिएको प्रहरीले जनाएको छ । वृद्धाको रकम लुटिएको घटनामा संलग्नको पहिचान भइसकेको छैन । प्रहरीले खोजी गरिरहेको छ ।

























