
रुपन्देही । सहकारीको रकम अपचलन प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज (बिहीबार) पनि जिल्ला अदालत रुपन्देहीमा उपस्थित हुँदैछन् ।
उनी बुधबार पनि आफैं अदालत उपस्थित भएका थिए । न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा लामिछानेको बयान भएको थियो । इजलासले आज बिहान १० बजे अदालतमा आफैं उपस्थित हुने सर्त राखेर लामिछानेलाई पत्नी निकिता पौडेल र कानुन व्यवसायीको जिम्मा लगाएको थियो ।
उनीविरुद्धको मुद्दामा आज थुनछेक बहस हुने छ । वादी नेपाल सरकार र प्रतिवादी लामिछानेतर्फका कानुन व्यवसायीको बहस सकिएपछि अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने अर्थात धरौटी वा साधारण तारेखमा छाड्नेमध्ये एउटा आदेश गर्ने छ ।
बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनसम्बन्धी मुद्दामा लामिछानेलाई प्रतिवादी बनाइएको छ । कास्की प्रहरीको हिरासतमा रहेका बेला पक्राउ पुर्जी जारी गरेर उनलाई बयानका लागि कात्तिक २७ गते रुपन्देहीस्थित जिल्ला सरकारी वकिलको कार्यालयमा उपस्थित गराइएको थियो ।
रुपन्देही जिल्ला अदालतमा लामिछानेसहित ४२ जनाविरुद्ध मुद्दा दायर भएको छ । सुप्रिम सहकारीको १४ करोड २९ लाख रुपैयाँभन्दा बढी रकम गोर्खा मिडिया नेटवर्क प्रा.लिमा गएको खुलेको थियो । जसमध्ये दुई करोड रुपैयाँ प्रक्रिया पूरा नगरी लामिछानेको नाममा ऋण गएको अनुसन्धानबाट पत्ता लागेको छ ।

























