वादविवादमा आउँदै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी

Share this
634shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ १०, बिहीबार १८:०७

विराटनगर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी वादविवादका लागि मोरङ आउने भएकी छन् । चुडाकवि स्मृति प्रतिष्ठानले माघ १६ गते गर्ने जिल्लास्तरीय वादविवाद प्रतियोगिताको प्रमुख अतिथि बनेर उनी मोरङ आउन लागेकी हुन् ।

स्मृति बोर्डिङ स्कुलमा हुने प्रतियोगिताको प्रमुख अतिथिको रूपमा भण्डारीलाई निम्ता गरिएको चुडाकवि स्मृति प्रतिष्ठानले विराटनगरमा बिहीबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ । प्रतियोगितामा सहभागी हुन मोरङका सामुदायिक र संस्थागत गरेर ४८ वटा विद्यालय दर्ता भइसकेको प्रतिष्ठानकी महासचिव रिता न्यौपानेले बताइन् ।

उनका अनुसार सहभागी हुने विद्यालय दर्ताको क्रम जारी छ । यसअघि स्मृति बोर्डिङ स्कुलको नेतृत्वमा प्रतियोगिता हुँदै आएको थियो । यस वर्षदेखि चुडाकवि प्रतिष्ठानले आयोजना गर्न लागेको न्यौपानेले बताइन् ।

‘भौतिक पूर्वाधार विकास कि सामाजिक पूर्वाधार विकास’ शीर्षकको वादविवाद प्रतियोगितामा उत्कृष्ट पक्ष र विपक्ष दुवै तर्फकालाई नगदसहित, शिल्ड र प्रमाणपत्र प्रदान गरिने उनको भनाइ छ । प्रथम पुरस्कार २० हजार, द्वितीय पुरस्कार १५ हजार र तृतीय पुरस्कार ११ हजार प्रदान गरिने छ । पक्ष र विपक्ष गरेर विजयी हुने ६ जनाले पुरस्कार पाउने छन् ।

सहभागी सम्पूर्ण विद्यालयहरूलाई प्रमाणपत्र प्रदान गरिनेछ । सहभागी विद्यालयबाट एक छात्र र एक छात्राले वादविवादमा भाग लिन पाउने छन् । नेतृत्व र तर्क गर्ने क्षमताको विकासका लागि बालबालिकालाई अभ्यस्त बनाउन वादविवाद गराउन लागिएको प्रतिष्ठानका सचिव सागर बरालले बताए ।

बरालका अनुसार प्रतियोगिता विगत ४ वर्षदेखि भइरहेको छ । प्रतियोगितामा सिस्नुपानी नेपालका सरोज घिमिरे, साहित्यकार तथा लेखक सुविन भट्टराई र शिक्षा क्षेत्रका भेषजा काफ्लेले निर्णायकको भूमिका निर्वाह गर्ने उनले बताए ।

वादविवाद प्रतियोगितासँगै बूढीगंगा गाउँपालिकामा कार्यरत ३८ जना महिला स्वयंसेविकालाई सम्मानको तयारी गरिएको प्रतिष्ठानका उपाध्यक्ष मणिराम न्यौपानेले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.