
विराटनगर । विराटनगर महानगरपालिका–४ बरगाछी पश्चिममा रहेको हेरिटेज इन्टरनेसनल स्कुलका विद्यार्थी ‘ग्लोबल म्याथ डिबेट लिग’मा सहभागी हुने भएका छन् ।
काठमाडौंमा हुन लागेको ‘ग्लोबल म्याथ डिबेट लिग’मा हेरिटेज स्कुलमा अध्यनरत कक्षा ७ र ८ का विद्यार्थीहरू सहभागी हुने भएका हुन् । कक्षा ७ का आरोन खतिवडा, प्रज्ञान राठी र कक्षा ८ का इशान्त चाम्लागाई सम्मिलित विद्यालयको टोलीले लिगमा सहभागिता जनाउन लागेको हो ।
यो टोली स्क्रिनिङ र क्षेत्रीय राउण्डपछि राष्ट्रिय राउण्डमा छनोट भएको हो । ‘एम्बार्क अनमाथ’ले आयोजना गरेको राष्ट्रिय ‘राउन्ड अफ म्याथ डिबेट लिग’का लागि छनोट भएको विराटनगरको यो एक मात्र टोली हो ।
यो गणित बहस लिग विभिन्न ८ देशमा आयोजना हुँदैछ । यस राष्ट्रिय राउन्डले नेपाल बाहिर हुने ‘ग्लोबल म्याथ डिबेट लिग’मा देशको प्रतिनिधित्व गर्न नेपालबाट टोली छनोट गर्नेछ ।
१ सयभन्दा बढी विद्यालयहरू र १ हजार टोलीहरूबीच स्क्रिनिङ र क्षेत्रीय राउन्डपछि छनोट गरी नेपालभरबाट उत्कृष्ट २० टोलीबीच फाइनल ‘डिबेट राउण्ड’ माघ १३ गते आइतबार काठमाडौंमा हुनेछ ।
‘डिबेट लिग’मा सहभागी हुन जान लागेका विद्यार्थीहरुलाई शुक्रबार एक कार्यक्रम गरी विद्यालयले बिदाइ गरेको छ । उनीहरूलाई स्कुलका प्रिन्सिपल सुशान्त बानिया, शिक्षक–शिक्षिका र विद्यार्थीहरुले जितको शुभकामनासहित बिदाइ गरे ।
शुभकामना दिँदै प्रिन्सिपल बानियाले विद्यार्थीहरूलाई नतिजा हारजित जस्तो भए पनि उच्च मनोबलका साथ सहभागिता जनाउन आग्रह गरे ।

























