उमागौरी सहकारीका अध्यक्ष अदालतमा हाजिर, बयान नसकिएपछि प्रहरीकाे जिम्मा

Share this
730shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ १४, सोमबार १६:४४

विराटनगर । मोरङको धनपालथान गाउँपालिका –४,कर्सिया बजारमा रहेको उमागौरी कृषि सहकारी संस्थाका अध्यक्ष शम्भुप्रसाद रौनियार जिल्ला अदालतमा हाजिर भएका छन् ।

सहकारीको बचत अपचलन मुद्दा दर्ता भएपछि फरार रहेका रौनियार आज (सोमबार) बिहान हाजिर भएका हुन् । जिल्ला न्यायाधीश अरुणकुमार झाको इजलासमा उनकाे बयान भएको छ ।

बयान नसकिएपछि प्रहरीको जिम्मा लगाइएको जिल्ला अदालत मोरङका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए । ‘आज बयान नसकिएपछि प्रहरीको जिम्मा लगाइएको छ, भोलि पनि बयान हुन्छ,’ उनले भने,‘ बयानपछि थुनछेक बहस हुन्छ ।’

उमागौरी कृषि सहकारी संस्थाको बचत अपचलन मुद्दामा सहकारीका अध्यक्ष रौनियार, संघीय संसदको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी पत्नी अन्जला कोइरालासहित २६ जनालाई प्रतिवादी बनाएर २२ करोड ४८ लाख २७ हजार ७ सय रुपैयाँ बिगो मागदाबीसहित २७ मंसिरमा मुद्दा दायर भएको थियो ।

मंसिर २८ गते जिल्ला अदालत मोरङले थुनछेक बहसपछि सहकारीका सञ्चालक तथा धनपालथान गाउँपालिका– ४ का पूर्ववडाध्यक्ष रोशन चौधरीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।

गत पुस २४ गते अदालतमा उपस्थित भएकी सहकारीको पूर्वसञ्चालक अन्जला कोइराला पनि १० लाख धरौटीमा छुटेकी थिइन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.