
विराटनगर । मोरङको रंगेली नगरपालिका–७ रञ्जनीका शिवु राई वैदेशिक रोजगारीका लागि मलेसिया गए । ९ वर्ष उतै बसे ।
लामो समय विदेशी भूमिका बिताएर स्वदेश फर्किएका उनले अहिले गाउँमै लोभलाग्दो आम्दानी गरिरहेका छन् । उनले रंगेली–३ रञ्जनीमा सामपाङ्ग कृषि फार्म सञ्चालनमा ल्याएका छन् । बंगुर पालनबाट मनग्य आम्दानी गरिरहेका छन् ।
‘लामो समयदेखि विदेशी भूमिका पसिना बगाइयो । त्यसपछि आफ्नै ठाउँमा केही गर्नुपर्छ भन्ने हुटहुटीले अहिले बंगुरपालन गरिरहेको छु,’ उनी भन्छन्, ‘अहिले राम्रो आम्दानी भइरहेको छ । गर्दा स्वदेशमै पनि हुँदो रहेछ भन्नेमा विश्वस्त छु ।’ विदेश बस्दा कमाएको पैसाले २ बिगा जमिन किनेर उनले कृषि फार्म सञ्चालन गरी बंगुरपालन गर्न थालेका हुन् ।

राईले ४ वर्षअघिदेखि बंगुर पाल्न थालेका थिए । सुरुमा १५ वटाबाट व्यवसाय थाले । अहिले ७० वटा बंगुर छन् । ‘सुरुमा थोरै पैसा लगाइयो । राम्रो हुँदै गएपछि लगानी बढाएको छु,’ उनले भने, ‘अहिले मनग्य आम्दानी भइरहेको छ । मेरो फार्ममा हाल हिमसार, ब्युरो र लेन्देक्स जातका ७० वटा बंगुर छन् ।’ उनले बिउका लागि भनेर २ वटा बँदेल पनि पालेका छन् ।
विदेशमा गरेको कमाइ उनले बंगुरपालनमा लगाएका हुन् । त्यति मात्रै हैन, लामो समय मलेसिया बस्दा सिकेको सिपका कारण सहज भयो । ‘एउटा बंगुरबाट १ सय दिनमा बच्चा जन्मिन्छ । स्वस्थ्य बंगुरले १२ देखि १८ वटासम्म बच्चा जन्माउँछ,’ राईले भने, ‘बच्चालाई ३० देखि ४० दिनसम्म आमाको दूघ खान दिएर छुटाउने गरिएको छ । त्यसपछि भुस्सा, पिना र मकैको पिठो खुवाएर हुर्काइन्छ ।’

बच्चा ४ देखि ५ महिना पुगेपछि ३० देखि ४० हजार रूपैयाँसम्ममा बिक्री हुने गरेको उनले सुनाए । ‘सुरुमा बजारको धेरै समस्या थियो । भनेका बेला बंगुर बिक्री हुँदैन थिए,’ राई भन्छन्, ‘अहिले बंगुर खरिद गर्न धरान, झापा, सिरहा, काठमाडौंदेखि पनि आउँछन् । बजारको समस्या छैन ।’
शिवुका भाइ आकाश कृषि कर्ममा राज्यले सहयोग गर्नुपर्ने बताउँछन् । कृषि क्षेत्र सरकारको बेवास्तामा पर्नु दुःखद् भएको उनले बताए । ‘जसको घरमा गाई छैन । उसले गाईपालनको अनुदान लिइरहेको छ । अनुदानजति पावर र पहुँचका भरमा बाँडिन्छ । तर, वास्तविक दुःख गर्नेहरुले पाउँदैनन् । हाम्रो मुलुकमा विडम्बना भनेको नै यही हो,’ आकाशले भने ।
उनले स्वदेशमै केही गर्छु भन्ने युवालाई राज्यले सहयोग नगरेको गुनासो पोखे । ‘अनुदान र सहयोगजति पहुँचका भरमा वितरण गरिन्छ । केही गर्छु भन्नेलाई चैं विदेश जान बाध्य पारिन्छ । सरकारले स्वदेशमा वातावरण तयार गर्न नसक्दा दैनिक हजारौं युवा विदेश पलायन भइरहेका छन्,’ उनी भन्छन् ।

स्थानीय युवा अनुप मुर्मु पनि राहदानी बनाएर विदेश जाने तयारीमा थिए । तर, उनले सामपाङ्ग कृषि फार्ममै काम गर्न थाले । त्यहाँबाट बंगुरपालनको ज्ञान लिए । अहिले आफैं बंगुरपालनको तयारी गरिरहेका छन् ।
स्थानीय धनाकुमारी राईले भने बंगुरपालन गरेको २ वर्ष भयो । तर, साथ र सहयोग माग्दै विभिन्न निकायमा जाँदा पनि नपाउने गरेको गुनासो उनको छ ।
‘पार्टीको झोला बोकेर हिँड्नेलाई केही नभनिकन अनुदान दिन्छन् । उनीहरुको न कुनै व्यवसाय नै छ । न त कृषि कर्ममै छन्,’ उनले भनिन्, ‘तर, केही गर्छु भन्नेलाई सहयोग गर्न मान्दैनन् । आफ्नो मिहिनेत र परिश्रमबाहेक राज्यले सहयोग छैन । गलत तरिकाले वितरण भइरहेको अनुदान तत्काल रोक्नुपर्छ ।’
पावरका भरमा अनुदान लिएर दुरुपयोग गर्नेहरुको संख्या उल्लेख्य रहेको राईको भनाइ छ । ‘फार्म खोलेकै छैनन् । तर, कृषि फार्म छ भनेर अनुदान पनि लिँदा रहेछन् । यस्तो गलत कार्य तत्काल रोक्नुपर्छ,’ उनी भन्छिन् ।



















