
विराटनगर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)मोरङले ‘१४ औं प्याब्सन स्पोर्टस् मीट’शुक्रबादेखि हुने भएको छ ।
विराटनगरमा मंगलबार प्याब्सन मोरङले पत्रकार सम्मेलन गर्दै ‘राष्ट्रको खेलकुद विकासका लागि, स्वास्थ्य र सभ्य समाजका लागि प्याब्सन स्पोर्टस् मूल नाराका साथ प्याब्सन स्पोर्टस् मीटको १४ औं संस्करण माघ १८ देखि २० गतेसम्म हुने जानकारी दिइएको छ ।
प्याब्सन मोरङका अध्यक्ष जगत बस्नेतले विश्वमा सैद्धान्तिक ज्ञानलाई भन्दा प्रयोगात्मक सिकाइ प्रक्रियालाई बढी मात्रामा महत्व दिने बताए ।
उनले खेलकुद पनि मानव जीवनको एक अभिन्न पाटो बन्ने भएकाले विद्यार्थीहरूको शारीरिक तन्दुरुस्तीका अलावा वैचारिक सन्तुलन तथा विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा समेत सहयोग पुग्ने विश्वासका साथ खेलकुद प्रतियोगिता गर्न लागेको हो ।
प्याब्सनसँग आवद्ध २ सय १० वटा विद्यालयका ३ हजार बढी विद्यार्थीहरूले प्रतियोगितामा भाग लिने छन् । कक्षा १२ सम्मका विद्यार्थीहरूले एथलेटिक्स, फुटबल, भलिबल, टेबलटेनिस, बस्केटबललगायत २५ भन्दा बढी विधाका खेलहरूमा सहभागिता जनाउने अध्यक्ष बस्नेतले बताए ।
प्रतियोगिताको अनुमानित खर्च करिब १५ लाख रहेको बताइएको छ । प्रतियोगिताका विजेता तथा उपविजेताले मेडल तथा ट्रफी प्राप्त गर्ने छन् ।



















