मोरङमा जिल्लास्तरीय वादविवाद प्रतियोगिता, सेन्ट जोसेफ र सत्यनारायण उत्कृष्ट

Share this
704shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ १७, बिहीबार ०७:५१

विराटनगर । मोरङ जिल्लास्तरीय वादविवाद प्रतियोगितामा सेन्ट जोसेफ स्कुल र सत्यनारायण माध्यमिक विद्यालय उत्कृष्ट भएका छन् ।

चुडाकवि फाउन्डेसनले बूढीगंगा गाउँपालिकास्थित स्मृति बोर्डिङ स्कुलमा गरेको प्रतियोगितामा पक्षको तर्फबाट सेन्ट जोसेफका रिजन मिश्र र विपक्षमा सत्यनारायण माविकी युनिसा गौतम प्रथम भए । पक्षमा पोखरिया माध्यमिक विद्यालयकी रागिनी न्यौपाने र विपक्षमा मोरङ पब्लिककी आज्ञा ओली द्वितीय भए ।

पक्षमा एभरेस्ट माविका खिलराज ढकाल र विपक्षमा साजिलाल माविकी आरती अधिकारी तृतीय भएका छन् । पक्ष र विपक्षमा प्रथम, द्वितीय तथा तृतीय हुने पुरस्कृत हुने विद्यार्थीहरूले पुरस्कारबापत क्रमशः २० हजार, १५ हजार र ११ हजार रुपैयाँ प्राप्त गरे ।

वादविवाद प्रतियोगितामा उत्कृष्ट पक्ष र विपक्ष दुवै समूहलाई नगदसहित शिल्ड र प्रमाणपत्र प्रदान गरिएको थियो । सहभागी सबै विद्यालयलाई विशेष प्रमाणपत्र प्रदान गरिएको छ ।

प्रतियोगितामा मोरङ जिल्लाका सामुदायिक तथा संस्थागततर्फका ३४ वटा माध्यमिक विद्यालयहरू सहभागी थिए । प्रतिस्पर्धी विद्यालयहरूबाट प्रत्येक विद्यालयका १–१ जना छात्र र छात्रा सहभागिता भएका हुन् ।

सिस्नु पानी नेपालका सरोज घिमिरे, साहित्यकार तथा लेखक सुविन भट्टराई, शिक्षा क्षेत्रका भेषजा काफ्ले वादविवाद प्रतियोगिताको निर्णायक थिए । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा ‘भौतिक पूर्वाधार विकास कि सामाजिक पूर्वाधार विकास’ शीर्षकमा विद्यार्थीहरूले आफ्नो पक्ष र विपक्षमा तर्कहरू प्रस्तुत गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति भण्डारीले युवाहरूलाई देशको विकासमा लगाउन सक्नु पर्नेमा जोड दिइन् । युवा विदेश पलायन रोक्ने खालका कार्यक्रम ल्याउन सके देशले समृद्धि प्राप्त गर्ने उनको भनाइ छ ।

पूर्वराष्ट्रपति भण्डारीले १५ देखि ६० वर्ष उमेर समूहकालाई स्वदेशमा नै रोजगारीको अवसर सिर्जना गर्नु पर्नेमा जोड दिइन् । स्वदेशमा नै रोजगारीको अवसर सिर्जना गर्न सक्ने हो भने देशले धेरै फाइदा लिन सक्ने उनको भनाइ छ । देशको विकासका लागि राजनीतिक स्थिरता, दिगो शान्ति र सुशासन अपरिहार्य रहेको भण्डारीले बताइन् ।

प्रतिष्ठानकी महासचिव रिता न्यौपानेले यसअघि स्मृति बोर्डिङ स्कुलको नेतृत्वमा हुँदै आएको यो प्रतियोगिता यस वर्षदेखि चुडाकवि प्रतिष्ठानले गर्न थालेको जानकारी दिइन् । आफ्नो बुबा र आमाको नाममा हरेक वर्ष प्रतियोगिता हुँदै आएको उनको भनाइ छ ।

विगत ४ वर्षदेखि हुँदै आएको प्रतियोगितालाई यो वर्ष सबैको अपनत्व हुने गरी प्रतिष्ठानमार्फत आयोजना गरिएको न्यौपानेको भनाइ छ । प्रतिष्ठानले बूढीगंगा गाउँपालिकामा कार्यरत ३८ जना महिला स्वयंसेविकाहरूलाई पूर्वराष्ट्रपति भण्डारीको हातबाट सम्मान गरेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.