सरकार उदासिन बन्दा अर्थतन्त्र चलायमान हुन सकेनः उपाध्यक्ष ढकाल 

Share this
667shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ २१, सोमबार १८:१४

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय उपाध्यक्ष हेमराज ढकालले निजी क्षेत्रप्रति सरकार उदासिन बन्दा मुलुकको अर्थतन्त्र चलायमान हुन सकेन ।

नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको ७ औं प्रदेशसभा तथा मोरङको बूढीगंगा गाउँपालिका–२ मा महासंघ कोशी प्रदेशको भवन शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै सोमबार उपाध्यक्ष ढकालले निजी क्षेत्रप्रति सरकार उदासिन हुँदा अर्थतन्त्र चलायमान हुन नसकेको आरोप लगाएका हुन् ।

यद्यपि, सरकारले केही दिनअघि ल्याएको विभिन्न अध्यादेश सकारात्मक रहेको उनले बताए । उपाध्यक्ष ढकालले भने, ‘सरकारले ल्याएको अध्यादेशबाट भूमि, लगानी प्रवर्धन, वन सम्बन्धी, होटललाई उद्योगको मान्यता दिने अवस्था, कालोबजारी ऐन खारेजी र ३० प्रतिशत बढी नाफा लिन नपाउने विषयको अन्त्य भएको छ । यो अध्यादेशको सकारात्मक पक्ष हो ।’

वर्तमान नेपाली कांग्रेस र नेकपा (एमाले)को २ दलीय गठबन्धन सरकारका कारण मुलुकको राष्ट्रिय राजनीति स्थिररतातर्फ गएको उनले बताए । उद्योग व्यवसाय चलायमान बनाउन सरकार, निजी क्षेत्र र सबै निकाय एकतावद्ध भएर अघि बढ्नुपर्ने बताउँदै, उपाध्यक्ष ढकालले भने, ‘पाथीभरा मन्दिर क्षेत्रमा केबलकार निर्माणमा देखिएको विवादलाई गलत नमानेको र समस्याको हल वार्ताबाट खोज्नु पर्छ ।’

त्यसैगरी, कार्यक्रममा महासंघ कोशीका अध्यक्ष राजेन्द्र राउतले पूर्वाधार निर्माण र विकासमा अवरोध गर्न नहुने बताए । उनले ताप्लेजुङस्थित पाथीभरा मन्दिर क्षेत्रमा निर्माण हुने भनिएको केबलकारको विषय महत्वपूर्ण रहेको बताए ।

धार्मिक पर्यटनको विकासका लागि महत्वपूर्ण पूर्वाधार केबलकार निर्माणमा विवाद देखिएको बताउँदै, अध्यक्ष राउतले भने, ‘पर्यटन क्षेत्रमा पूर्वाधारको कमीले पर्यटन संख्यामा वृद्धि हुन नसकेको र रोजगारीको अवसर सिर्जना हुन नसकेको अवस्था छ । यस्तो अवस्थामा निजी क्षेत्रलाई लगानीका लागि प्रेरित गर्नुपर्ने र निर्माणको प्रक्रिया पूरा भइसकेको अवस्थामा निर्माणमा अवरोध गर्नु कदापि उचित हुँदैन ।’

निजी क्षेत्रले हरेक धर्म, सांस्कृतिक विविधताले पर्यटन क्षेत्रको महत्वपूर्ण आधारशीला खडा गरेको उनले बताए । उनले भने, ‘हरेक धर्म, संस्कृति, रीतिरिवाज, प्रवर्धन र संरक्षणमा निजी क्षेत्र संवेदनशील छ । हाल केबलकारको विषयमा देखिएको विवादलाई वार्ताबाट समाधान गरी अघि बढ्नु उपयुक्त हुन्छ ।’

अध्यक्ष राउतले आगामी वर्ष कोशी प्रदेश सरकारले आयोजना गर्ने प्रदेश लगानी, पर्यटन वर्ष २०८२ ले प्रदेशको आर्थिक क्षेत्रलाई चलायमान बनाउन सक्ने विश्वास लिएको बताए । अध्यक्ष राउतले महासंघ सचिवालयका लागि २१ लाख रुपैयाँ सहयोग उपलब्ध गराएका थिए । त्यसैगरी, उपाध्यक्ष ढकालले समेत भवन र फर्निसिङका लागि ७ लाख रुपैयाँको सहयोग गर्ने प्रतिवद्धता गरे ।

महासंघको भवन २ कठ्ठा क्षेत्रफलमा निर्माण हुनेछ । सो जग्गामध्ये १ कठ्ठा लक्ष्मण बस्नेतले उपलब्ध गराए भने थप १ कठ्ठा जग्गा महासंघले खरिद गरेको हो ।

कार्यक्रममा महासंघका पूर्वअध्यक्ष चण्डीराज ढकाल, गाउँपालिका अध्यक्ष जीतनारायण थापामगर, महासंघका पूर्वअध्यक्ष नरेन्द्र खड्कालगायतले शुभकामना व्यक्त गरेका थिए ।

यस्ताे छ अध्यक्ष राजेन्द्र राउतकाे मन्तव्यको पूर्णपाठ

 

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.