
विराटनगर । कोशी प्रदेशबाट नेपाल कानुन व्यवसायी परिषद् (नेपाल बार काउन्सिल)को पार्षदमा अधिवक्ता राजु ढकाल निर्वाचित भएका छन् ।
पार्षद चयनका लागि आज (शनिबार) निर्वाचन भएको थियो । कोशी प्रदेशमा विराटनगर, इलाम, झापा, धनकुटा र उदयपुर गरेर ५ वटा केन्द्रमा मतदान भएको हो । अन्तिम मतपरिणाम अनुसार नेपाली कांग्रेसनिकट डीएलए र नेकपा (एकीकृत समाजवादी)निकट एसपीएलएको गठबन्धनबाट उम्मेदवारी दिएका ढकालले ४ सय ५० मत प्राप्त गरे ।
उनका प्रतिस्पर्धी नेकपा (एमाले)निकट पीपीएलए, नेकपा (माओवादी केन्द्र)निकट आरपीएलए, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपानिकट पीएलए, मोहन वैद्यनिकट एनपीएलए र जनता समाजवादी पार्टी (जसपा)निकट एफएलएसहितको ‘प्रगतिशील, गणतान्त्रिक, समाजवादी, स्वतन्त्र, देशभक्त, समावेशी’ गठबन्धनका उम्मेदवार बालकृष्ण आचार्यले ४ सय २३ मत मात्रै पाए ।
डीएलए–एसपीएलए गठबन्धनका उम्मेदवार ढकालले प्रगतिशील, गणतान्त्रिक, समाजवादी, स्वतन्त्र, देशभक्त, समावेशी गठबन्धनका उम्मेदवार आचार्यलाई २७ मतान्तरले पराजित गरेका हुन् । अधिवक्ता ढकाललाई विराटनगरबाट ३ सय ३१, इलामबाट १७, झापाबाट ६०, धनकुटाबाट १८ र उदयपुरबाट २४ मत प्राप्त भएको छ ।
अधिवक्ता आचार्यलाई विराटनगरबाट २ सय ७४, इलामबाट ४०, झापाबाट ६१, धनकुटाबाट २१ र उदयपुरबाट २७ मत प्राप्त भएको थियो । विराटनगरमा ६ सय १२ मत खसेकोमा ७ मत बदर भएको मुख्य निर्वाचन अधिकृत विश्वराम भट्टराईले बताए ।
बार काउन्सिलको पार्षद चयनका लागि शनिबार ७ वटै प्रदेशमा निर्वाचन भएको थियो । काउन्सिलका लागि ७ वटै प्रदेशबाट १–१ जना पार्षद निर्वाचित हुने प्रावधान छ । प्रत्येक प्रदेशमा २–२ जनाको उम्मेदवारी परेको थियो ।
निर्वाचनमा प्रगतिशील, गणतान्त्रिक, समाजवादी, स्वतन्त्र, देशभक्त, समावेशी गठबन्धन र डीएलए–एसपीएलए गठबन्धनका उम्मेदवारबीच प्रतिस्पर्धा भएको हो । बिहान १० बजेबाट सुरु भएको मतदान अपरान्ह ४ बजेसम्म चलेको थियो ।
काउन्सिलले कानुन व्यवसायीको लाइसेन्स वितरण तथा खारेजी, कानुनी शिक्षा, कानुन व्यावसायीको आचारसंहितालगायतका क्षेत्रमा काम गर्छ । बार काउन्सिलको अध्यक्ष महान्यायाधिवक्ता हुन्छन् ।


























