
विराटनगर । विराटनगरको शिक्षादीप कलेजले आयोजना गरेको वैज्ञानिक आविष्कार कार्यशाला गोष्ठी आइतबार (आज)सम्पन्न भएको छ ।
विराटनगरमा एक हप्तादेखि भइरहेको वैज्ञानिक आविष्कार कार्यशालामा विद्यार्थीहरूले विभिन्न प्रकारका सामाग्री बनाएर प्रदर्शनी गरेका थिए ।

कार्यशाला गोष्ठीको समापन समारोहका प्रमुख अतिथि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विद्यार्थीहरूले बनाएको हवाई जहाज (प्लेन) उडाएर उद्घाटन गरेका थिए ।
सो अवसरमा बोल्दै मुख्यमन्त्री कार्कीले विद्यार्थीहरूले गरेको आविष्कारलाई राज्यले प्राथामिकतामा राखेको बताए । उनले नयाँ नयाँ कुराको ‘इनोभेसन’ ले देशलाई विकास र समृद्धितर्फ अघि बढाएको र सूचना प्रविधिसम्बन्धी ‘इनोभेसन’ लाई व्यावासीकरण गर्नु राज्यको दायित्व भएको प्रस्ट्याए ।

तीनै तहका सरकारले विद्यार्थीहरूका नयाँ आविष्कारलाई सहयोग गरी प्रोत्साहन गर्नुपर्छ । उनले भने, ‘विकासको परिभाषा बाटो, पुल र भवनमात्र नभई मानव संशाधन, सूचना प्रविधिको विकास महत्वपूर्ण रहेको छ ।’
कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्काले कलेजलाई नेपालकै १ नम्बर कलेज बनाउने उद्देश्य रहेको बताए । उनले काठमाडौं बाहिर मोफसलमा सूचना प्रविधिको क्षेत्र पनि अब्बल विद्यार्थी उत्पादन गर्ने लक्ष्यसहित प्रविधिको क्षेत्रमा लगानी गरेर अघि बढेको बताएका छन् ।
कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला, कोशी प्रदेशसभाका सदस्य एवं शिक्षादीप कलेजका अध्यक्ष भीम पराजुली, उच्च शिक्षालय तथा माध्यमिक विद्यालय एशोसिएसन नेपाल (हिसान) का केन्द्रीय उपाध्यक्ष भेषराज पोखरेल, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का सह प्राज्ञ डा. इन्द्रमणि भगत, मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलगायतले शुभकामना व्यक्त गरे ।
कलेजका कक्षा ११ र १२ मा विज्ञान संकायमा अध्ययनरत विद्यार्थीहरूको एक हप्ताको ‘रोबोटिक्स खगोल विज्ञान उड्डयन र कार्यशाला’ सकिएसँगै उनीहरुले रिमोर्ट ५ सय मिटर उचाइसम्म उड्नसक्ने रिमोर्ट कन्ट्रोल प्लेन बनाएर प्रदर्शन गरे ।
त्यस अवसरमा कक्षा ११ को वार्षिक परीक्षामा विज्ञान संकायको छात्रातर्फ प्रथम हुने रचिता दंगाल र छात्रतर्फ प्रथम हुने रुसन दाहाललाई सम्मान गरियो ।

कक्षा ११ को व्यवस्थापन संकायको प्रथम हुने छात्रा नेन्सी राजवंशी र छात्रतर्फ प्रथम हुने रोशनकुमार महतो सम्मानित भए ।

























