महानगरले आयोजना गरेको लोकनृत्यमा पोखरिया स्कुल प्रथम 

Share this
653shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ २७, आइतबार १९:५३

विराटनगर । विराटनगर महानगरपालिकाले आयोजना गरेको लोकनृत्य प्रतियोगितामा विराटनगरस्थित पोखरिया मावि प्रथम भएको छ ।

विराटनगर–४ स्थित श्री मावि कञ्चनबारीले संयोजन गरेको प्रतियोगितामा २३ वटा सामुदायिक विद्यालयलाई पछि पार्दै पोखरिया प्रथम भएको हो । 

प्रतियोगितामा आदर्श मावि द्वितीय, मदननगर आधारभूत विद्यालय तृतीय र श्री मावि कञ्चनबारीले सान्त्वना स्थान प्राप्त गरे । प्रथम, द्वितीय र तृतीय हुने विद्यालयलाई क्रमशः २०, १५ र १० हजार नगदसहित शिल्ड, ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो । 

प्रतियोगिताको उद्‌घाटन गर्दै महानगरका मेयर नागेश कोइरालाले विद्यार्थीको चौतर्फी विकासका लागि महानगरले काम गरिरहेको बताए । उनले पठनपाठनसँगै अन्य गतिविधिमा समेत सक्रिय हुन विद्यार्थीलाई आग्रह गरे ।  

कार्यक्रममा सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेत, वडा नम्बर ४ का अध्यक्ष जितन थापा, महानगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुंगेल, श्री मावि कञ्चनबारीका व्यवस्थापन समितिका अध्यक्ष गुणराज खनाल, प्रधानाध्यापक राजेन्द्र घिमिरेलगायतले शुभकामना दिएका थिए । 

प्रतियोगितामा २३ सामुदायिक विद्यालयका २ सयभन्दा बढी विद्यार्थीले नृत्य प्रस्तुत गरेको महानगरको शैक्षिक महाशाखाका अधिकृत कृष्ण भट्टराईले जानकारी दिए ।

विद्यार्थीको क्षमता विकासका लागि महानगरले लोकनृत्य, हाजिरीजबाफ, वक्तृत्वकला, विज्ञान प्रदर्शनीलगायतका विभिन्न अतिरिक्त क्रियाकलापसमेत गर्दै आएको छ । 

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.